काठमाडौँ - यूईएफए च्याम्पियन्स लिग फुटबलमा म्यानचेस्टर सिटीले प्रभावशाली प्रदर्शन जारी राखेको छ। सिटीको जितमा स्टार स्ट्राइकर अर्लिङ हालाण्डले रवाफिलो प्रदर्शन जारी राखेका छन्।
बुधबार राति भएको खेलमा कोपनहेगनलाई ५-० ले पराजित गर्दा २ गोल हालाण्डको नाममा रह्यो। समूह जी जितसँगै सिटीले लगातार जित यात्रा कायम राख्दै नकआउट सम्भावना बलियो बनाएको छ। त्यस्तै रियाद महारेज र जुलियन अल्भारेजले १/१ गोल गर्दा सिटीले १ गोल आत्मघाती उपहार पाएको थियो।
खेलको सातौँ मिनेटमा हालाण्डले गोल गर्दै सिटीलाई सुरुआती अग्रता दिलाएका थिए। ३२ औँ मिनेटमा हालाण्डले व्यक्तिगत दोस्रो गोल गर्दै सिटीको अग्रता दोब्बर बनाए। हालाण्डको यो १२ खेलमा १९ गोल हो। खेलको ३९ औँ मिनेटमा कोपनहेगनका खोचोलाभाले आत्मघाती गोल गर्दा सिटी पहिलो हाफमा नै ३-० ले अघि रह्यो।
५५ औँ मिनेटमा महरेजले गोल गर्दा सिटीको अग्रता ४-० मा पुग्यो। खेलको ७६ औँ मिनेटमा अल्भारेजले गोल गर्दै सिटीलाई ५-० को जित दिलाएका थिए।
जितसँगै सिटीले अपराजित यात्रा कायम राखेको छ। समूहमा सिटीले ३ खेलमा ९ अंक जोडेको छ। कोपनहेगन १ अंक जोडेर पुछारमा रहेको छ।