काठमाडौँ - लमजुङ जिल्लाको बेसीशहर नगरपालिकाका वडा ७ का वडाध्यक्ष ऋषिराम बस्नेतलाई प्रहरीले पक्राउ गरेको छ । आइतबार राती जिल्ला अस्पताल लमजुङमा कार्यरत डाक्टर सन्दीप अधिकारीलाई कुटपिट गरेका वडाध्यक्ष बस्नेतलाई स्वास्थकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा ऐनविरीत कसुर गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।
वडाध्यक्ष बस्नेतका आफन्त पर्ने बिरामी अस्पतालको आकस्मिक कक्षमा भर्ना भएका थिए। उनको चेकजाँच गरी राति साढे १० बजेतिर वार्डमा सार्न लाग्दा वडाध्यक्ष बस्नेत आएर कुटपिट गरेको अस्पतालले जनाएको छ।
बस्नेतले नर्सिङ कक्षको ढोका फोडी भित्र प्रवेश गरेर टाउको र छातीमा लात्ती, मुक्कासमेत प्रहार गरेको डाक्टर अधिकारीले बताएका छन्।
अस्पतालमा भर्ना गर्नुअघि डाक्टरले मञ्जुरीनामा गराउँदै थिए । मञ्जुरीनामाको सर्तहरु आफूलाई मान्य नहुने भन्दै उनले आपत्ति जनाएपछि डाक्टरले उनलाई चित्त बुझाउने गरी हातैले लेखेर हस्ताक्षर गर्न भने ।
कानुनी प्रक्रिया पूरा गर्नका लागि देशैभरिका अस्पतालमा गराइने मञ्जुरीनाका विषयमा आपत्ति जनाउँदै विवाद सिर्जना भएपछि डाक्टरमाथि नै मुक्का प्रहार गरेका थिए ।