काठमाडौँ - प्रिमियर लिगको चर्चित क्लब लिभरपुल बिक्रिमा रहेको छ। क्लब मालिक फेनअवे स्पोर्ट ग्रुपले लिभरपुल बिक्रिमा रहेको विज्ञप्ति जारी गरेको हो। अमेरिकी अर्बपति जोन हेनरीले क्लबको बिक्रि मुल्य ४ बिलियन अमेरिकी डलर रहेको जनाएका छन्।
सन् २०१० मा लिभरपुललाई उक्त समुहले ३०० मिलियन अमेरिकी डलरमा किनेको थियो। टम हिक्स र जर्ज जिलेटले लिभरपुल क्लब फेनअवे समुहलाई बेचेको थियो। मिडिया रिपोर्टका अनुसार चेल्सीलाई टोड बोयहेलीले तिरेको मुल्यलाई मध्यनजर गर्दै लिभरपुल क्लबको मुल्य ४ बिलियनको मुल्यांकन गरिएको हो।
१२ वर्ष अगाडि फेनअवे समुहले लिएपछि क्लबले निकै सुधार गरेको थियो। क्लबले प्रशिक्षक उर्गेन क्लपलाई नियुक्त गरेपछि लिभरपुलले च्याम्पियन्स लिग, प्रिमियर लिग, एफए कप र काराबाओ कप जित्न सफल भएको थियो। ६ वर्षको अन्तरालमा लिभरपुलले ३ पटक च्याम्पियन्स लिगको फाइनलमा पुग्न सफल रह्यो।
उक्त क्लब किन्न ५ जना अर्वपतिहरुले इच्छा देखाएको समेत मिडिया रिपोर्टमा उल्लेख गरिएको छ।