शङ्खरापुरको नगरप्रमुखमा राप्रपा र उपप्रमुखमा कांग्रेस विजयी

काठमाडौँ– शङ्खरापुर नगरपालिकाको नगरप्रमुखमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का रमेश नापित विजयी भएका छन्। नापितले चार हजार ७०० मत पाएका छन्। उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा (एकीकृत समाजवादी)का लक्ष्मीप्रसाद (एलपी) श्रेष्ठले चार हजार २०२ मत प्राप्त गर्नुभएको नगर निर्वाचन अधिकृत सीता निरौलाले जानकारी दिए।

नेकपा (एमाले)का कृष्णलाल बजगाईँले तीन हजार ६२२ मत पाए। नेकपा (माओवादी केन्द्र)का मधु केसी नीरजले दुई हजार २२२ मत पाएको उनले बताए। जनता समाजवादी पार्टीले भने ९२ मत मात्र प्राप्त गरेको थियो। विसं २०७४ को निर्वाचनमा राजधानीमा राप्रपाले स्थानीय तहको प्रमुखमै जीत हासिल गर्न सकेको थिएन।

उपप्रमुखमा कांग्रेस
उपप्रमुखमा नेपाली कांग्रेसका समिता श्रेष्ठ विजयी भइन्। उनले छ हजार ३६२ मत प्राप्त गरिन्। उनका निकटतम् प्रतिद्वन्द्वी राप्रपाकी विजयकुमारी वाइवाले तीन हजार २९८ मत पाइन्। शङ्खरापुरमा कांग्रेस र समाजवादीको गठबन्धन थियो।

वडाध्यक्षमा क्रमशः १ बाट एमालेका बाबुराम दङ्गाल, २ मा कांग्रेसका रनबहादुर तामाङ, ३ मा राप्रपाका सूर्य तामाङ, ४ मा कांग्रेसका सोनाम तामाङ, ५ मा एमालेका शेरगम्भीर थापा, ६ मा राप्रपाका राधाकृष्ण श्रेष्ठ, वडा नं ७ पनि राप्रपाकै विष्णुप्रसाद श्रेष्ठ, ८ मा कांग्रेसका पोते थिङ र वडा नं ९ मा पनि कांग्रेसकै सहदेव श्रेष्ठ निर्वाचित भएका छन्।

यसअघिको निर्वाचनमा नगरपालिकाको प्रमुख र उपप्रमुखमा एमाले विजयी भएको थियो। सो निर्वाचनमा पाँचवटा वडा पनि एमालेले जितेको थियो।
 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×