वडा भवन निर्माण सुरु

म्याग्दी- म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ भगवतीमा वडा कार्यालय भवन निर्माण सुरु भएको छ। भगवतीस्थित सिरसिरडाँडामा गण्डकी प्रदेश सरकार, जिल्ला समन्वय समिति र गाउँपालिकाको साझेदारीमा भवन निर्माण सुरु भएको हो। वडाध्यक्ष रिमबहादुर कटुवालले ठेकेदार कम्पनीले नयाँ भवन बनाउन पुरानो भत्काएर निर्माण सामग्री जुटाउन थालेको जानकारी दिए। “गाउँपालिका, प्रदेश सरकार र जिससको साझेदारीमा भवन बनाउन लागिएको हो”, उनले भने, “आगामी जेठ १५ गतेभित्र भवन सम्पन्न गरिसक्ने लक्ष्य छ।”

भवन बनाउन चालु आर्थिक वर्षमा गाउँपालिकाले रु १० लाख, जिससले रु २५ लाख र प्रदेश सरकारले रु ३५ लाख बजेट विनियोजन गरेका थिए। ठेक्का प्रतिस्पर्धाका क्रममा कर र पिएसबाहेक रु ४२ लाख ६९ हजार ९२५ कबोलेको भण्डारी निर्माण सेवा छनोट भएको गाउँपालिकाका इञ्जीनियर सुदीप गौतमले जानकारी दिए।

“एकतले चारकोठाको महिला र पुरुषका लागि छुट्टाछट्टै शौचालय भएको अपा¬ङ्गतामैत्री भूकम्प प्रतिरोधी क्षमताको भवन बनाउन लागिएको हो” उनले भने, “वडाध्यक्ष, सचिव, जनप्रतिनिधि र बैठककक्षका लागि कोठा हुनेछन्।” हाल वडा कार्यालय सञ्चालन भएको पुरानो भवन साँघुरो र जीर्ण छ। सेवा प्रवाह गर्न असहज भएको छ। नयाँ भवन निर्माण भएपछि सेवा प्रवाह गर्न सहज र व्यवस्थित हुने सचिव विष्णु भण्डारीले बताए।

वडा कार्यालय भवन निर्माणका लागि बजेट विनियोजनमा सहयोग गर्ने गण्डकी प्रदेशसभा सदस्य विनोद केसी, जिल्ला समन्वय समिति प्रमुख देवेन्द्रबहादुर केसी र गाउँपालिका अध्यक्ष भबबहादुर भण्डारीलाई वडाध्यक्ष कटुवालले धन्यवाद दिए। 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×