काठमाडौँ। नेपाली चलचित्र ‘कौसीद’को पहिलो झलक सार्वजनिक गरिएको छ। चलचित्रको पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति पनि घोषणा गरिएको छ। अभिनेत्री ऋचा शर्माले सामाजिक सञ्जालमार्फत चलचित्रको पोस्टर शेयर गर्दै प्रदर्शन मितिको जानकारी दिएकी हुन्।
ऋचाको प्रस्तुतिमा निर्माण भएको चलचित्र आगामी वर्षको जेठ २७ मा प्रदर्शनमा आउनेछ। कुमार भाष्करको निर्देशन रहेको चलचित्रमा ऋणमा परेको एक जीवनको कथा देखाईनेछ। चलचित्र अभिनेत्री ऋचाका अलावा भोलाराज सापकोटा, रुपेश दाहाल, परिक्षीत विक्रम राणा, सदीक्षा गौतम, निर्भिक भट्टराई, सागर भट्टराई आदि कलाकारहरुको अभिनय रहेको छ।
केदार भुसाल निर्माता रहेको चलचित्रको कार्यकारी निर्माता दिमेश श्रेष्ठ, सह-निर्माता लक्ष्मण बानियाँ रहेका छन्। चलचित्रमा प्रकाश श्रेष्ठ र धिर्जन थपलियाको कथा रहेको छ भने निर्देशक भाष्करको पटकथा रहेको छ।