काठमाडौं - गायक सुरज श्रेष्ठले आफ्नो नयाँ गीत ’बेनी बजारमा’ सार्वजनिक गरेका छन् । दीपक शर्माले रचना गरेको यस गीतमा आफूलाई मन परेकी युवतीको प्रेम प्राप्तिको लागि युवकले गरेको प्रयासको भावलाई उतारिएको छ । सुरजको स्वरका लागि दीपकले नै यसमा सङ्गीत दिएका छन् ।
गीतको भिडियोको पृष्ठभूमिमा म्याग्दी जिल्लाको बेनी बजार र आसपास एवम् पर्वत जिल्लाको ऐतिहासिक मल्लाज दरबार तथा कुस्माको शताब्दी घरलाई राखिएको छ । कुमार केसीले निर्देशन गरेको भिडियोमा उषा उप्रेती र दिनेश काफ्लेले प्रमुख अभिनय गरेका छन् । अनिल के. मानन्धरको छायाङ्कन तथा मनोज कार्कीले सम्पादन गरेका छन् ।
वि.सं. २०६० देखि गायनमा सक्रिय सुरजको यो १६ औँ गीत हो । आफ्नै एल्बमको रूपमा उनले पहिलो पटक २०६९ सालमा ’सुर हार्मोनिकल नोट’ नामबाट एल्बम बजारमा ल्याएका थिए । उक्त समयमा सो एल्बममा समावेश प्रायः गीतहरू चर्चामा आएका थिए ।
सङ्गीतकारहरू राजु सिंह, सुरेश अधिकारी, अर्जुन पोखरेल, कमलमान सिंह, उदेश श्रेष्ठ, डीजे सन्तोष लगायतको सङ्गीतमा स्वर दिएका श्रेष्ठका जिस्कन्छे मुईयाले, मुद्दा हाल्दिनु, पहिलो माया, भुल्यौ की, लाग्दैन निद्रा लगायतका गीतहरू चर्चित छन् । उनले गायिका मेलिना राईसँग सहकार्य गर्दै अर्को गीतको तयारी पनि गरिरहेका छन् ।
सार्वजनिक गीतबारेमा बोल्दै गायक श्रेष्ठले यो गीत मात्र नभई धेरै युवाको भावना रहेको बताए । “गीत गाउनको लागि मात्र हुँदैनन्, गीतले ठुलो सङ्ख्याको भावनालाई छुन सक्नुपर्छ । यो गीत पनि यस्तै छ“, श्रेष्ठले बताए । पर्वत तथा म्याग्दी क्षेत्रको आन्तरिक पर्यटनमा पनि मद्दत पुग्न सक्ने गरी भिडियोको निर्माण गरिएको उनले बताए ।