चितवनकलीले जन्माईन् अर्काे छावा

चितवन - चितवन राष्ट्रिय निकुञ्जको अमलटारी सेक्टरअन्तर्गत लामीचौरमा पुनः अर्काे छावा जन्मिएको छ। चितवनकली नामक हात्तीले भाले छावालाई जन्म दिएको हो। विगत एक महिनामा योसहित चार छावा निकुञ्जमा जन्मिएका छन्। दुई महिनाअघि हात्ती प्रजनन तथा तालिम केन्द्र खोरसोर सौराहाबाट गर्भवती नभएको भन्दै कामका लागि लामीचौर पठाइएको हात्तीले बच्चा जन्माएपछि हात्तीसारका कर्मचारी खुसी भएका छन्।

गत माघ १९ देखि फागुन १९ गतेसम्म चार हात्तीले बच्चा जन्माएका हुन्। वैशाखयता यो सङ्ख्या पाँच पुगेको छ। केन्द्रका प्रमुख मनपुरन चौधरीका अनुसार माघ १९ गते तीर्थमान कलीले जन्माएको बच्चालाई रामसारकली नामाकरण गरिएको छ। माघ २९ गते हिमालीकलीले जन्माएको बच्चालाई भद्रगज नामकरण गरिएको छ। यस्तै फागुन १७ गते डम्बरकलीले भाले बच्चा जन्माएको भए पनि नामकरण गरिसकिएको छैन। कली पोथी हो भने गज भाले हो । २२ देखि २४ महिनामा हात्तीले बच्चा जन्माउने गर्दछ। यसअघि गत वैशाखमा एउटा बच्चा जन्मिएको थियो । तीन–चार महिनाभित्रमा लोकतन्त्रकली र ऐश्वर्यकलीले बच्चा जन्माउने चौधरीले बताए।

प्रजनन केन्द्रमा जङ्गली हात्तीबाट प्रजनन हुने गरेको छ। केन्द्रमा अधिकांश समय रोनाल्डो रहेकाले यी बच्चा रोनाल्डोका नै भएको चौधरीको भनाइ छ। यद्यपि ध्रुवे र गोविन्दे नामका जङ्गली हात्ती पनि समय–समयमा सङ्सर्गका लागि केन्द्रमा आउने गर्दछन्। निकुञ्जमा हाल ५८ हात्ती छन्। तीमध्ये छवटा कोसीटप्पु राष्ट्रिय निकुञ्जका दरबन्दीका हात्ती हुन्। प्रजनन केन्द्रमा मात्रै हाल ११ माउ र १३ छावा गरी २४ हात्ती छन्।

निकुञ्जको सुरक्षार्थ हात्ती प्रयोग गर्ने गरिन्छ। अन्य सवारीसाधन जान नसक्ने ठाउँमा समेत हात्ती जान सक्ने भएकाले निकुञ्ज सुरक्षामा हात्तीको विशेष भूमिका हुने गर्दछ। बाघ, गैँडालगायतका अन्य जङ्गली जनावर नियन्त्रणमा लिनुपर्दा समेत हात्तीको प्रयोग हुने गरेको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×