पाल्पा । तानसेन नगरपालिकाले ‘एक वडा एक किलोमिटर सडक कालोपत्र’ गर्ने योजना अघि सारेको छ । गाउँ–गाउँमा पनि सहजरूपमा यातायात सुविधा पु¥याउने उद्देश्यले नगरपालिकाले १४ वडाका ग्रामीण सडकमा कालोपत्र गर्ने काम सुरु गरेको हो ।
आठौँ नगर परिषद्ले निर्णय गरी चालु आर्थिक वर्ष २०७८÷७९ बाट सञ्चालन गर्ने गरी बहुवर्षीय कार्यक्रमअन्तर्गत काम अगाडि बढाइएको हो ।
यसका लागि करिब रु १५ करोड बजेट समेत विनियोजन गरिएको छ । पहिलो चरणमा ७०० देखि ९०० मिटरसम्म सडक कालोपत्र हुनेछ भने क्रमशः सबै वडाका सबै सडक आगामी तीन÷चार वर्षभित्र कलोपत्र हुँदै जाने नगर प्रमुख अशोककुमार शाहीले जानकारी दिनुभयो । वडा नं २ मा उपभोक्ता समितिबाट काम अगाडि बढाइएको छ भने अन्य वडामा निर्माण व्यवसायीबाट काम अगाडि बढेको छ । निर्माणमा गुणस्तरीयता कायम गर्न प्रयोगशाला परीक्षण गरिएका निर्माण सामग्री प्रयोग हुने नगरपालिकाका इञ्जीनियर रामप्रसाद श्रेष्ठले बताए।
नगरपालिकाले यहाँका ग्रामीण क्षेत्रका सबै वडामा कच्ची सडक निर्माणसँगै बाहैै्र महिना सहजरूपमा यातायात सञ्चालनका लागि सडकमा कालोपत्र गर्ने काम गरेको हो । एक वडा एक किलोमिटर सडक कालोपत्र योजनाअन्तर्गत काम थालनी भइसकेको र आगामी माघभित्र सम्पन्न गर्ने लक्ष्यअनुसार काम भइरहेको तानसेन– ६ का वडाध्यक्ष सागरमान महर्जन जानकारी दिए । गाउँमा सडक विस्तार तथा निर्माणलाई विकासको पहिलो खुट्किलो मानिन्छ । सडकको विकास हुँदै गर्दा अन्य सेवासुविधा भित्रिने आशामा स्थानीयवासी खुशी छन् ।