चुनावी मोडमा एमाले: ओलीदेखि पोखरेलसम्म शीर्ष नेता मैदानमा, उम्मेदवार सिफारिस तीव्र

काठमाडौं — आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै नेकपा एमालेले प्रत्यक्षतर्फका उम्मेदवार सिफारिस प्रक्रिया तीव्र बनाएको छ। पार्टी सचिवालयको निर्देशनअनुसार क्षेत्रीय, जिल्ला र प्रदेश कमिटीमार्फत धमाधम नाम सिफारिस भइरहेको छ।

एमाले अध्यक्ष केपी शर्मा ओली झापा–५ बाट उम्मेदवार सिफारिस भएका छन्। क्षेत्रीय समन्वय कमिटीले ओलीको नाम सर्वसम्मत रूपमा एकल सिफारिस गरेको हो। यस्तै, उपाध्यक्ष विष्णु पौडेल रुपन्देही–२ बाट पुनः उम्मेदवार बन्ने तयारीमा छन् भने उपाध्यक्ष गोकर्ण विष्ट गुल्मी–२ बाट सिफारिस भएका छन्। गुल्मी–१ बाट प्रदीप ज्ञवालीको नाम अगाडि आएको छ।

उपाध्यक्ष पृथ्वीसुब्बा गुरुङ लमजुङबाट सिफारिस भएका छन्, जहाँ एकै क्षेत्रबाट छ जना आकाङ्क्षी देखिएका छन्। महासचिव शंकर पोखरेल आफ्नै गृह क्षेत्र दाङ–२ बाट एकल रूपमा उम्मेदवार सिफारिस भएका छन्। उपमहासचिव योगेश भट्टराई ताप्लेजुङबाट उम्मेदवार बन्ने तयारीमा छन् भने रघुवीर महासेठ धनुषा र लेखराज भट्ट कैलालीबाट चुनाव लड्ने तयारीमा रहेको पार्टी स्रोतले जनाएको छ।

त्यसैगरी सचिव महेश बस्नेत भक्तपुर, राजन भट्टराई काठमाडौं–४, यमलाल कँडेल सुर्खेत, भानुभक्त ढकाल सुनसरी, शेरधन राई भोजपुर र खगराज अधिकारी कास्कीबाट चुनावी प्रतिस्पर्धामा उत्रिने तयारीमा छन्। केही नेताहरू भने समानुपातिक सूचीमा सिफारिस भइसकेका छन्।

एमालेले पुस २४ गतेभित्र सबै सिफारिस नाम केन्द्रमा पठाइसक्ने कार्यतालिका बनाएको छ। शीर्ष नेताहरू नै प्रत्यक्ष चुनावी मैदानमा उत्रिन थालेपछि एमालेले आगामी निर्वाचनलाई निकै गम्भीर र रणनीतिक रूपमा लिएको संकेत देखिएको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×