काठमाडौँ - नेपाल पत्रकार महासङ्घले कान्तिपुर टेलिभिजनमा कार्यरत श्रमजीवी पत्रकारको न्यूनतम पारिश्रामिक लागू गर्नुपर्ने र बिनाकारण निष्काशन गरिएका पत्रकार दीपा दाहालको पुनर्बहाली गर्नुपर्ने माग राख्दै आज दोस्रो दिन पनि धर्ना दिएको छ।
महासङ्घले सोमबारदेखि उक्त माग गर्दै चरणबद्ध सङ्घर्षका कार्यक्रम अघि सारेको हो। आन्दोलनकारीले तिनकुनेस्थित कान्तिपुर टेलिभिजनको कार्यालयको गेटमा धर्ना दिएका थिए। नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोखरेल, सल्लाहकार निर्मला शर्मा, वरिष्ठ उपाध्यक्ष रमेश विष्ट, महासचिव रोशन पुरीलगायत धर्नामा उपस्थित थिए।
अध्यक्ष पोखरेलले महासङ्घ जुन उद्देश्यका साथ आन्दोलनमा उत्रिनुपरेको हो त्यसको गन्तव्यमा नपुग्दासम्म पछि नहट्ने र सुरु गरेको लडाइँलाई जितको स्थानमा पुराएरै छोड्ने प्रतिबद्धता व्यक्त गरे। उनले संवाद, सडक सङ्घर्ष र कानुनी प्रक्रियाका आधारमा श्रमजीवी पत्रकारको पक्षमा महासङ्घले काम गरिरहेको तथा तत्काल समस्या समाधानका लागि कान्तिपुर व्यवस्थापन पक्षलाई आग्रह गरे।
महासङ्घका सल्लाहकार शर्माले निष्काशित दाहाललगायत बिना कारण निकालिएका पत्रकारको पुनर्बहालीको माग गर्दै महासङ्घले सुरु गरेको आन्दोलनप्रति ऐक्यबद्धता जनाए।