काठमाडौँ - जिम्बाब्वेका पूर्वकप्तान डेभ हाउटन राष्ट्रिय टोलीको मुख्य प्रशिक्षकमा नियुक्त भएका छन्। जिम्बाब्वेले अर्को महिना टी-२० विश्वकप छनोट प्रतियोगिता पनि आयोजना गर्ने भएको छ।
६४ वर्षीय हाउटनले लालचन्द राजपूतको स्थान लिनेछन्। हाउटनले इङ्ग्ल्याण्डको घरेलु क्रिकेटमा डर्बीशायर र मिडलसेक्स जस्ता टोलीहरूलाई पनि प्रशिक्षण दिसकेका छन्।
जिम्बाब्वेले १९९२ मा भारतविरुद्ध आफ्नो पहिलो टेस्ट खेल्दा हाउटन टोलीको कप्तान थिए। उनले उक्त डेब्यू खेलमा शतकीय इनिङ्स खेलेका थिए।
उनले २२ टेस्टमा ४३-०५ को औसतमा ४ शतक प्रहार गर्दै १४६४ रन बनाएका छन्। सन् १९९४ मा बुलावायोमा श्रीलंकाविरुद्ध प्रहार गरेको २६६ रन जिम्बाब्वेका लागि टेस्ट इतिहासमा उनको उच्चतम व्यक्तिगत स्कोर हो।
जिम्बाब्वेले भर्खरै अफगानिस्तानलाई घरेलु टी-२० सिरिजमा ३-० ले हराएको थियो।