यूएईसँगको दोस्रो एकदिवसीय खेलमा नेपाल तीन विकेटले विजयी

काठमाडौँ - यूएईसँगको दोस्रो एकदिवसीय खेलमा नेपाल तीन विकेटले विजयी भएको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बुधबार भएको खेलमा नेपालले संघर्षपूर्ण जित हासिल गरेको हो।

यूएईले दिएको १९२ रनको लक्ष्य नेपालले ४७.५ ओभरमा ७ विकेट गुमाएर पूरा गर्यो। नेपालका लागि गुल्सन झाले ३७, कुशल भुर्तेले ३५, आरिफ शेखले ३३, ज्ञानेन्द्र मल्लले २६, दीपेन्द्रसिंह ऐरीले १३ र सोमपाल कामीले १६ रन बनाएका छन्।

यूएईका लागि रोहन मुस्ताफाले ३, हजरत बिलालले २ र बसिल अहमदले १ विकेट लिए।

यसअघि टस जितेर ब्याटिङ रोजेको यूएईले ४३.२ ओभरमा सबै विकेट गुमाएर १९१ रन बनाएको थियो। नेपालले कसिलो बलिङ गरेपछि यूएई सामान्य स्कोरमै समेटिएको थियो। यूएईका लागि मुहम्मद वासीमले ५०, अलिशान सारफूले ३५, वृत्य अरविन्दले २५ र विष्णु सुकुमारनले २४ रन बनाएका थिए।

नेपालका लागि सोमपाल कामी र ललित राजवंशीले ३-३ तथा करण केसी, गुल्सन झा, दीपेन्द्रसिंह ऐरी र कुशल भुर्तेले १-१ विकेट लिएका थिए।

यो जितसँगै एकदिवसीय श्रृङ्खलामा १-१ बराबरी बनेको छ। शुक्रबार हुने तेस्रो खेल विजेताले श्रृङ्खला जित्नेछ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×