झापा। मेचीनगर नगरपालिका–१४ मा एक हजार क्षमताको निर्माणधीन होल्डिङ सेन्टरको प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले आज स्थलगत निरीक्षण गरेका छन्।
उनले निरीक्षणपश्चात् तत्काल निर्माण कार्यलाई सम्पन्न गर्न आग्रह गर्दै यसको सञ्चालनका लागि आवश्यक तयारी भइरहेको बताए। मेचीनगर नगरपालिकाकी उपप्रमख मीना पोखरेल उप्रेती र श्रीनाथ नयाँ गण चारआलीका गणपति अमरजङ्ग थापाबाट उनले सेन्टरबारे जानकारी लिएका थिए।
निरीक्षणमा प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्की, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, प्रदेशका मुख्य सचिव, प्रमुख जिल्ला अधिकारी छवि रिजाल लगायतको उपस्थिति रहेको थियो।
निर्माण भएका सबै संरचना नगरकै सम्पत्ति हुने भएकाले होल्डिङ सेन्टरलाई नगरपालिकाले जग्गा उपलब्ध गराएको थियो। वडा कार्यालयले संरक्षण गरेको ११ बिघा जग्गामध्ये चार बिघा जग्गा नगरपालिकाले होल्डिङ सेन्टर निर्माण भइरहेको छ।
करिब रु २८ करोड २६ लाख ८७ हजार ४६४ लागत बन्ने होल्डिङ सेन्टर निर्माणको ठेक्का हनुमान कन्स्ट्रक्सन ललितपुरले लिएको छ। श्री २१ नं वाहिनी अड्डा तोपगाछी ब्यारेक झापा र श्रीनाथ अनयाँ गण चारआलीले यसको रेखदेख गरिरहेको छ।
आधुनिक र सुविधासम्पन्न होल्डिङ सेन्टरमा सङ्क्रमितहरुलाई चाहिने चिकित्सकीय उपकरणसहितको टोली तथा अक्सिजनसहितको शय्या उपलब्ध हुने बताइएको छ। भारतबाट आएका नेपाली, भारतीय नागरिक र आफन्तविहीन समेतलाई उपचारका लागि होल्डिङ सेन्टरमा राखिनेछ। होल्डिङ सेन्टरमा उनीहरुको स्वास्थ्य जाँच, खानपान र नियमित शारीरिक अभ्यास हुनेछ।