काठमाडौँ - भारतीय (आई) लिग टोली राउन्ड ग्लास पन्जाब एफसीले आफ्नो क्लबमा नेपाली राष्ट्रिय फुटबल टोलीका गोलकिपर किरण चेम्जोङ आबद्ध औपचारिक रुपमा जानकारी दिएको छ।
फिफाको अधिकारिक खेलाडी स्थानान्तरण माध्यम ट्रान्सफर म्याचिङ सिस्टम (टिएमएस) अनुसार किरण गत महिनानै पन्जाब एफसीमा आबद्ध भएपनि क्लबले औपचारिक रुपमा शुक्रबार आफ्नो फेसबुक पेजमार्फत जानकारी गराएको हो। किरणले पनि समाजिक सञ्जालमार्फत पुनः पन्जाबमा फर्कदा खुसी लागेको र टोलीलाई च्याम्पियन बनाउन आफ्नोतर्फबाट राम्रो प्रदर्शन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
किरण माल्दिभ्सको लिग च्याम्पियन टोली माजिया स्पोर्टस एन्ड रिक्रिएसन सेन्टरबाट भारतीय क्लबमा आबद्ध भएका हुन्। किरण भदौ ५ गते माजियाबाट पन्जाबमा सरुवा भएका थिए। त्यसैकारण माजियाले भदौ ५ गते एएफए कप जित्दा किरण टोली बाहिर रहेका थिए। त्यसअघि माजियालई दिवेही प्रिमियर लिग उपाधि जिताउन किरणको भूमिका महत्वपूर्ण रहेको थियो। उनी लिगको उत्कृष्ट गोलकिरपर समेत चुनिएका थिए।
किरण तेस्रो पटक पन्जाबमा आबद्ध भएका हुन्। किरण पहिलो पटक सन् २०१७ /१८ को सिजनमा पन्जाबमा आबद्ध भएका थिए। त्यो सिजन पन्जाब लिग च्याम्पियन बनेको थियो। त्यसयता उनी भारत र माल्दिभ्सका क्लबहरुमा आबद्ध हुँदै आएका छन्। २०१८ माल्दिम्सको टिसी स्पोर्टस्लाई लिग च्याम्पियन बनाएका किरण उत्कृष्ट गोलकिपर समेत बनेका थिए।
सन् २०१९ /२० को सिजनमा पुनः पन्जाबमा आबद्ध भएका किरण टोली आइ लिगमा तेस्रो हुँदा पनि उत्कृष्ट गोलकिपर चुनिएका थिए। गत वैशाखमा स्वदेशमा नेपाल सुपर लिगमा धनगढीबाट खेल्दै उत्कृष्ट गोलकिपर चुनिएका किरण यो पटक फेरि माल्दिभ्सको लिगमा माजियाबाट च्याम्पियन बनेका छन्।
दशरथ रंगशालामा मंगलबार बंगलादेशविरुद्धको मैत्रीपूर्ण खेलका लागि किरण २३ सदस्यीय राष्ट्रिय फुटबल टोलीमा परेका छन्। उनी मैत्रीपूर्ण खेलका लागि उपलब्ध हुन सक्ने बिहीबार पत्रकार सम्मेलनमा राष्ट्रिय टोलीका कार्यवहाक मुख्य प्रशिक्षक प्रदीप हुमागाईले जानकारी दिएका थिए। गत महिना राष्ट्रिय खेलकुद परिषद्को स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा किरण उत्कृष्ट खेलाडीबाट सम्मानित भएका थिए।