विराटनगर। जलस्रोत तथा ऊर्जा, भौतिक पूर्वाधार तथा यातायात तथा सहरी विकासमन्त्री कुलमान घिसिङले विराटनगरस्थित कोशी अस्पतालका निर्माणाधीन भवनहरू सम्झौताअनुसार तोकिएको समयमै पूरा गर्न निर्देशन दिएका छन्।
आइतबार अस्पताल निरीक्षणका क्रममा उनले निर्माण कार्यमा आएको ढिलाइप्रति असन्तुष्टि व्यक्त गर्दै निर्माण व्यवसायीलाई निर्धारित समयमै भवन हस्तान्तरण गर्न चेतावनीसहित आग्रह गरे। बिरामीको बढ्दो चाप र सेवा विस्तारको आवश्यकताका कारण भवन समयमै नबन्दा गुनासो बढेको उनले उल्लेख गरे।
सङ्घीय सहरी विकास तथा भवन निर्माण कार्यालयका अनुसार रु दुई अर्ब ४५ करोड लागतको ११ तले भवनको ३५ प्रतिशत मात्र काम सकिएको छ भने रु ३८ करोड लागतको चार तले भवनको ६० प्रतिशत निर्माण सम्पन्न भएको छ।
निर्माण व्यवसायी केसी एण्ड रमण कन्स्ट्रक्सनले चार वर्षअघि काम सुरु गरेको भए पनि सम्झौताअनुसार यस वर्षभित्र भवन हस्तान्तरण गर्नुपर्ने बाध्यता छ। सो अवसरमा अस्पताल प्रमुख डा. रुणा झा तथा डिभिजनल इञ्जिनियर सुरेन्द्र साहले मन्त्रीलाई अस्पतालको वर्तमान अवस्था तथा भवन निर्माणको प्रगतिबारे विस्तृत जानकारी दिएका थिए।
मन्त्री घिसिङले ढिलो–ढालो अन्त्य गरी छिटो र गुणस्तरीय काम गर्न आग्रह गर्दै अस्पताल सेवा प्रभावित नपर्ने गरी समयसीमा कायम राख्न चेतावनीसमेत दिए।