नवलपुर - नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को देवचुली नगरपालिकाको प्रगतिनगरमा आजदेखि देवचुली महोत्सव सुरु हुँदैछ। तेस्रो संस्करणको देवचुली महोत्सव देवचुली उद्योग वाणिज्य सङ्घको आयोजनामा हुन लागेको हो।
सङ्घका अध्यक्ष एवं महोत्सव मूलसमितिका संयोजक रेशमलाल सापकोटाले कोरोना महामारीका कारण थला परेको व्यापार, व्यवसाय, पर्यटनलगायतका क्षेत्रको प्रवर्द्धन गर्न महोत्सव फलदायी हुने बताए। एक सय व्यावसायिक कक्ष रहने महोत्सव परिसरमा कृषिका प्रवद्र्धनात्मक र विभिन्न सार्वजनिक जनचेतनामूलक, सूचनामूलक र सन्देशमूलक २५ निःशुल्क कक्ष रहने सापकोटाले जानकारी दिए।
महोत्सवमा व्यापारिक कक्षसहित बाल उद्यान, कलात्मक सेल्फी जोन लगायत रहने भन्दै अध्यक्ष सापकोटाले करिब एक लाख दर्शकले महोत्सवको अवलोकन गर्ने बताए। महोत्सव परिसरभित्रै स्थानीय प्रतिभा उजागर र पहिचानको उद्देश्यका साथ विद्यालयस्तरीय नृत्य तथा गायन प्रतियोगिता, आमा समूहबीचको डोरी तान्ने प्रतियोगिता र भलिबल प्रतियोगिता हुने सापकोटाको भनाइ छ।
महोत्सव अवलोकन गर्न रु १०० टिकट शुल्क निर्धारण गरिएको भन्दै सापकोटाले ज्येष्ठ नागरिक र रातो परिचयपत्रबाहक अपाङ्गता भएका व्यक्तिलाई निःशुल्क प्रवेशको सुविधा रहेको जानकारी दिए। त्यस्तै विद्यार्थीलाई परिचयपत्रका आधारमा टिकट शुल्कमा ५० प्रतिशत सहुलियत दिइनेछ। आज उद्घाटन हुने महोत्सव फागुन २८ गतेसम्म सञ्चालन हुनेछ।