काठमाडौँ - कोरोना भाइरस सङ्क्रमणको मारमा परेका चितवनका उद्योग व्यवसाय बैङ्कहरुले ब्याजदर बढाउँदै लगेपछि थप प्रभावित बनेका छन्।
कोरोना भाइरस सङ्क्रमणका कारण सङ्कटमा परेका उद्योगी व्यवसायी बैङ्कले ऋणीसँग सम्झौता गर्दा भएको ब्याजलाई क्रमशः बढाउँदै लगेपछि थप मर्कामा परेका हुन्। गतवर्षको तुलनामा यो वर्ष बैङ्कको ब्याज बढेको छ। बैङ्कको बेसरेट (आधारदर) गत वर्ष पुसको तुलनामा यस वर्षको पुसमा दुई प्रतिशत हाराहारीले बढेको छ। उनीहरुले तरलता अभाव देखाउँदै बेसरेटमा ६ प्रतिशतसम्म प्रिमियम जोडेर ब्याजदर तय गर्ने गरेका छन्। बैङ्कमा तरलता अभावले ब्याजदर बढाउनु परेको बैङ्करहरु बताउँछन्।
ठूलो उद्योग र कृषि क्षेत्रमा बैङ्क केही उदार भए पनि मझौला र साना ऋणीलाई उच्च ब्याजदर लिने गरेका छन्। गत वर्षको पुसमा राष्ट्रिय वाणिज्य बैङ्कको बेसरेट ५ दशमलव ६१ प्रतिशत रहेको थियो। चालु आर्थिक वर्षको पुसमा यो दर ६ दशमलव ६ प्रतिशत पुगेको छ। यो बेसरेट बैंकमा सबैभन्दा कम हो।सिभिल बैङ्कको गत आर्थिक वर्षको पुसमा ८ दशमलव ४५ प्रतिशत बेसरेट रहेकोमा चालु आर्थिक वर्षको सोही अवधिमा ९ दशमलव ७४ प्रशित पुगेको छ।
गतवर्षको पुसको तुलनामा यस वर्षको पुसमा सबैभन्दा बढी एनआईसि एशिया बैङ्कको बेसरेट बढेको छ। गतवर्षको पुसमा यो बैङ्कको बेसरेट २ दशमलव ७९ प्रतिशत रहेकोमा त्यसमा वृद्धि भएर अहिले ९ दशमलव ४४ प्रतिशत पुगेको छ। यो बैङ्कले आफ्नो बेसरेटमा ६ प्रतिशतसम्म प्रिमियम जोडेर ब्याजदर तय गर्दा १५ प्रतिशतसम्म पुग्ने गरेको छ।
कृषि क्षेत्रमा ठूला बैङ्कले दुई प्रतिशत प्रिमियम थप गरेका छन् भने अन्य क्षेत्रमा ३ देखि ६ प्रतिशतसम्म प्रिमियम थप गरेको पाइन्छ। नवील बैङ्कका एक कर्मचारीले कृषिमा २ प्रतिशत र अन्य क्षेत्रमा ३ देखि ५ प्रतिशत प्रिमियम थप गरेर ब्याजदर कायम गर्ने गरिएको जानकारी दिए। उद्योग वाणिज्य सङ्घ चितवनका अध्यक्ष त्रिलोचन कँडेलले बैङ्कको ज्यादतिका कारण उद्योग व्यवसाय धरासायी हुने अवस्थामा पुगेको बताए। उनले भने, “ब्याजदर मनलाग्दी बढाएका छन्। स्वीकृत भएका ऋण समेत नदिएर व्यवसाय धरासायी बनाउने अवस्थामा पुगेका छन्।”
बैङ्कले लिएको गलत नीतिका कारण कोभिडपछि प्रभावित व्यवसाय थप समस्यामा पुगेको उनको भनाइ छ।