दमक अस्पतालमा अब नसर्ने रोगको पनि उपचार सेवा

काठमाडौँ - सरकारी अस्पतालका रूपमा विकास हुँदै आएको  दमक अस्पतालमा अब नसर्ने रोगको उपचारका लागि नयाँ कार्यक्रम विस्तार गरिएको छ। 

अस्पतालका अध्यक्षसमेत रहेकी नगरपालिका उपप्रमुख गीता अधिकारीले नसर्ने रोगबारे स्वास्थ्य कार्यक्रम सञ्चालन गर्न काठमाडौँ इन्स्टिच्युट अफ चायल्ड हेल्थसँग नगरपालिकाले सम्झौता गरेको जानकारी दिएकी छन्। हिजो बिहीबार नगरप्रमुख रोमनाथ ओली, उपप्रमुख अधिकारी र काठमाडौँ इन्स्टिच्युट अफ चायल्ड हेल्थका तर्फबाट अध्यक्ष प्रा. डा. भगवान कोइरालाबीच त्यस विषयमा सम्झौता भएको हो। उक्त कार्यक्रमअन्तर्गत कार्डियो (मुटु) मधुमेह, सिओपिडी र पाठेघरको मुख तथा स्तन क्यान्सर पहिचान गरी स्थानीयस्तरमै उपचार गरिने जानकारी दिइएको छ।

अस्पतालमा उपचार सम्भव नभएका बिरामीलाई धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सिफारिस गरी पठाइने बताइएको छ। धरानमा यहाँबाट पठाइएका बिरामीका लागि सहयोग गर्न छुट्टै हेल्पडेस्क स्थापना गर्न अस्पतालका सम्बन्धित व्यवस्थापन पक्षसँग परामर्श गरी सहकार्य गर्न सकिने प्रतिष्ठानका प्रा. डा. सञ्जीव शर्माले जानकारी दिए। सम्झौतामा सेवा सञ्चालनका लागि दुवै पक्ष आवश्यक सहकार्य गरेर काम गर्न तयार हुने, आवश्यकता र उपयोगिताका आधारमा यससँग सम्बन्धित सबै सरोकारवालाले काम गर्ने र गराउने, कार्यक्रम कार्यान्वयनका लागि  आवश्यक पर्ने नीति बनाउन सरोकारवालाबीच सहकार्य गर्ने पनि उल्लेख गरिएको छ।

सम्झौता कार्यान्वयनका सम्बन्धमा स्पष्ट पार्दै नगरप्रमुख ओलीले अब यो सुविधा लिनका लागि दमक बाहिर रहेका निजी अस्पतालमा महङ्गो शुल्क खर्चिनुपर्ने बाध्यता हट्ने विश्वास व्यक्त गरे। त्यसका लागि आवश्यक जनशक्ति तथा उपकरण व्यवस्थापनमा केही चुनौती देखिए पनि दमक तथा आसपासका लागि यो कार्यक्रम महत्वपूर्ण भएको उनको भनाइ छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×