दिवस र बन्धुलाई अन्तर्राष्ट्रिय लोक–साहित्य पुरस्कार प्रदान

काठमाडौँ। महिला, बालबालिका तथा ज्येष्ठ नागरिक उमा रेग्मीले वरिष्ठ स्रष्टाहरु तुलसी दिवस र डा चूडामणि बन्धुलाई यस वर्षको ‘कालीभक्त पन्त अन्तर्राष्ट्रिय लोक–साहित्य पुरस्कार’ प्रदान गरेकी छिन्। पुरस्कारको राशि जनही रु एक लाख एक हजार रहेको छ।

कालीभक्त–कृष्णा पन्त स्मृति प्रतिष्ठान नेपालले आयोजना गरेको कार्यक्रममा उनीहरुलाई नेपाली लोकसंस्कृति र लोकवार्ताका माध्यमबाट अतुलनीय योगदान दिएकामा सम्मानित गरिएको हो। मन्त्री रेग्मीले स्रष्टाको योगदानप्रति राष्ट्र ऋणि भएकाले स्रष्टा जीवितै छँदा सम्मान गर्ने परम्परालाई निरन्तरता दिनुपर्ने बताइन्। उनले मुलुकको वर्तमान राजनीतिक स्थिति सहज नभए पनि असहमतिका बीच सहमति खोज्ने प्रयासमा प्रधानमन्त्री शेरबहादुर देउवा रहेको बताइन्। “सकेसम्म चढेको डुङ्गा नडुबोस्, यसका लागि सम्बन्धित सबै जिम्मेवार हुनुपर्छ। के ठीक के बेठीक भन्ने कुरा राष्ट्रलाई सर्वाेपरि ठानेर निर्णयमा पुग्नुपर्छ।”, मन्त्री रेग्मी भनिन्।

कार्यक्रममा कालीभक्त पन्तकृत ‘हाम्रो सांस्कृतिक इतिहास’ को विमोचन पनि गरिएको थियो। विसं १९६४ भदौ ६ गते पर्वतको लिमीठानामा जन्मिएका लोकसंस्कृतिकर्मी पन्तको २०४८ साल फागुन ६ गते निधन भएको थियो। पन्तले राणा र पञ्चायत शासनको विरोधी आन्दोलनमा समेत भूमिका निर्वाह गरेका थिए। उनका इतिहास, संस्कृति, नाटक र लोकसाहित्य विधामा करिब एक दर्जन कृति प्रकाशित छन्। कालीभक्तका छोरा गोविन्दप्रसाद पन्त र बुहारी उर्मिलादेवी पन्तले सो पुरस्कारका लागि अक्षयकोष स्थापना गरेका थिए।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×