काठमाडौँ । मध्यपुरथिमि नगरपालिका–३ गठ्ठाघरमा वर्षौं अगाडि जर्मन शैलीमा बनेको एउटा सुन्दर घर, जस्ताको त्यस्तै उभिएको छ। घर वरिपरिमा ठूला रुख र खाली जमिनलाई सम्याएर धमाधम नयाँ संरचना निर्माण भइरहेका छन्।
भक्तपुर जिल्लामै फरक शैलीमा निर्माण गरिएको ‘जर्मन होम हस्पिटालिटी’ ले आफ्नो स्वरूपमा पूर्णता पाउन अझै एक महिना लाग्ला तर जर्मन होमको पुरानो आकर्षक संरचना र हस्पिटालिटीको दोस्रो तलासम्मको आकर्षक शैलीमा भने हतार गर्दै रातारात आज निर्माण सम्पन्न गरिएको छ। नेकपा (एमाले)को २५ र २६ गते ३०१ सदस्यीय केन्द्रीय समितिको दोस्रो बैठक यहीँ बस्ने भएपछि यो घर भक्तपुरमा एकाएक चर्चामा आएको छ। बैठकस्थल रातारात आकर्षक र सुन्दर शैलीमा निर्माण गरिएको छ। बैठकस्थलको तयारी र अवस्थाका बारेमा एमाले केन्द्रीय सदस्य एवं सांसदद्वय महेश बस्नेत, राजीव पहारी, एमाले भक्तपुर जिल्ला कमिटी अध्यक्ष वचन देउजा र नेता किरण थापालगायतले आज अनुगमन गरेका छन्।
अनुगमन पछि प्रतिक्रिया दिँदै सांसद बस्नेतले भोलिदेखि भक्तपुरमा सुरु हुने एमालेको केन्द्रीय बैठकस्थलको तयारी पूरा भएको बताएका हुन्। उनले भने, “राजधानीनै भए पनि भक्तपुर सधैँ ओझेलमा पर्दै आएको थियो, तर पछिल्लो चार वर्षमा भक्तपुरको विकासले फड्को मारेपछि देशका ठूलो कार्यक्रम पनि भक्तपुरमा हुन थालेपछि यहाँका व्यवसायी उत्साहित भएर व्यापारिक क्षेत्रमा लगानी बढाइरहेका छन्, भक्तपुरले अब पर्यटकीय मात्रै नभई व्यापारिक हवको रूपमा पनि पहिचान बनाउन थालेको छ ।”
त्यसो त हाल ललितपुर निवासी सोमेन्द्र श्रेष्ठको जर्मन शैलीको यो घरलाई यहाँका बासिन्दाले जर्मन घरको नामले चिन्दै आएका थिए। स्थानीय बासिन्दा एवं एमाले भक्तपुरका अध्यक्ष देउजाले भने, “मेरै घरअगाडि रहेको यो घरलाई सबैले जर्मन घर भन्ने गर्थे, जर्मन शैलीको घर, फराकिलो हरिया रुखको कम्पाउण्ड, निकै राम्रो थियो, जर्मनमा व्यवसाय सञ्चालन गर्दै आएका र धेरै समय जर्मनमै बस्ने व्यवसायीको यो घरलाई अहिले यहाँका युवा व्यवसायीले भाडामा लिएर नयाँ संरचना थप्दै जर्मन होम बनाएपछि यहाँको विकासमा चमक थपिएको छ।” जर्मन होम हस्पिटालिटीका सञ्चालक रामशरण तिमिल्सिनाले २० वर्षभन्दा बढी समयका लागि जर्मन होम भाडामा लिएर काठमाडौंँ बिर्साउने गरी व्यावसायिक केन्द्र निर्माण सुरु गरेको बताए। उनले भने, “जर्मन हाउस आफैँमा पनि आकर्षक छ, त्यसमाथि पनि भक्तपुरमा एउटा व्यापारिक हवको कमी भइरहेको अवस्थामा त्यसलाई पूरा गर्ने हामीले जमर्को गरेका छौँ, हाम्रो चाहनालाई यो ठाउँले पुरा गरेको छ, यहाँ अब काठमाडौँका ठूला मलभन्दा फराकिलो र ठूला व्यावसायिक एवं व्यापारिक केन्द्रको रूपमा विकास गर्दैछौँ।”
यहाँका हलमा कुमारी, टल्किएका सेता हिमाल, भक्तपुरलगायत उपत्यकाका विभिन्न सम्पदाको सुन्दर पेन्टिङ र ढलौटका चम्किला मूर्तिले आकर्षण बढाएको छ भने बाहिरी सुन्दरतालाई पनि उत्तिकै आकर्षक बनाइएको छ। यहाँ दुई हजारजना अटाउने क्षमताको दुईवटा कार्यक्रम स्थल निर्माण गरिएको छ। झण्डै रु. २० करोडभन्दा बढीको लागतमा १०० जनाभन्दा बढीलाई प्रत्यक्ष रोजगारी दिने गरी जर्मन होम हस्पिटालिटीसँगै सम्पूर्ण व्यापारिक केन्द्रका रूपमा आगामी नयाँ वर्षबाट पूर्णरूपमा सञ्चालनमा आउने गरी भौतिक संरचना निर्माण भइरहेका छन्। “हामीले आकर्षक व्यापारिक केन्द्र र मल खोज्दै काठमाडौँ धाउनुपर्थ्यो, अब पर्दैन, पूजाका सम्पूर्ण सामग्रीदेखि बैंक, वित्तीय संस्था, सपिङ सेन्टर, एमआरआइ डाइग्नोस्टिक सेन्टरलगायतका स्वास्थ्य सेवा, विभिन्न कम्पनीका गाडीका शो रुम, लत्ताकपडा, फर्निचर, दैनिक उपभोग्य सामग्रीसहितको सपिङ मल, रेष्टुराँ, नाइट क्लबसम्म सञ्चालन गर्ने गरी तयारी गरेका छौँ”, सञ्चालक तिमिल्सिनाले भने, “भक्तपुरमा उपत्यकाकै फरक प्रकृतिको व्यापारिक कम्प्लेक्सका रुपमा यसको विकास गर्दैछौँ, यो सुरु भए पछि कुनै पनि सामानका लागि सपिङ मल खोज्दै अब काठमाडौँ जानुपर्दैन।”
शान्त वातावरण, पारिवारिक एवं मनोरमस्थल, हाइजेनिक खाना, आकर्षक शैलीको भवन, विदेशी पर्यटकलाई समेत आकर्षित गर्दै नगरकोट धुलिखेल जानुअघि वा फर्कँदा यहाँ बसेर ब्रेकफास्ट, लन्च लिन सकिने, यहाँ एकछिन रमाउन सकिने गरी व्यवस्थापन गरेको भन्दै उनले भक्तपुरका लागि यो एउटा उदाहरणीय व्यापारिक केन्द्र बन्ने विश्वास व्यक्त गरेका छन्। उनले भने, “कोरोना महामारीको जोखिम त छँदैछ, तर त्यसलाई सम्झेर सबै रोक्न र रोकिनु पनि हुँदैन, महामारीले अवसर पनि ल्याएको छ भन्ने हामीले सम्झिएका छौँ, त्यसैले ठूलो लगानीमा जोखिम मोलेका हौँ।” आफूले रोजेको खानको परिकार, रोजेको सामान किन्न, केहीबेर पारिवारिक मनोरञ्जन गर्न यहाँका बासिन्दा लामो सडक जाम छिचोल्दै काठमाडौँ जाने गरेकाले अब त्यसको अन्त्य गर्न भक्तपुरमा व्यापारिक केन्द्र सुरु गरेको उनको भनाइ छ।
काठमाडौँबाट आउँदा सल्लाघारीसम्म पुग्दा राम्रो र आकर्षक हस्पिटालिटी नरहेकाले यसतर्फ पनि लगानी गरेको बताउँदै उनले २० वर्ष पछाडिका युवापुस्ताको भावनासमेत बुझेर व्यापारिक केन्द्र निर्माण गरेको बताए। अरनिको राजमार्गसँगै जोडिएको वातावरणमैत्री यस स्थलमा जो कोही रमाउन सक्ने, फोटो लिन सक्ने, प्रशस्त पार्किङको सुविधा लिन सक्नेका साथसाथै हस्पिटालिटीमा नेवारी परम्परागत रूपमा भोज खाने गरी जर्मन होमको माथिल्लो तलालाई ‘बुइगल नेवारी भ्वयः छेँ’ समेत सजाइएको छ। नेवारी सुकुल भोजको परम्परा लोप हुँदै गएको अवस्थामा यसको संरक्षण गर्न सम्पूर्ण नेवारी परिकार पाउने गरी नेवारी भ्वयः छेँ तयार गरिएको सञ्चालक तिमिल्सिनाको भनाइ छ।
सरकारले व्यवसाय गर्नसक्ने वातावरण बनाइदिए अहिलेका युवा पुस्ताले जमिन भाडामै लिएर भएपनि राम्रो व्यवसाय सञ्चालन गर्न सक्छन् भन्ने सन्देश पनि यसले दिएको छ। यसमा यहाँका युवा व्यवसायी तिमिल्सिनासँगै थानेश्वर बस्याल, प्रविण श्रेष्ठलगायत पाँचजनाले संयुक्त लगानी गरेका छन्।