काठमाडौँ - टी-२० विश्व कप क्रिकेटमा आज दुई वटा खेल हुँदैछन्। आज सुपर १२ को समूह ‘१’ मा रहेका न्युजिल्यान्ड र आयरल्यान्ड तथा अस्ट्रेलिया र अफगानिस्तानबीच खेल हुनेछ।
आज हुने पहिलो खेलमा बिहान पौने १० बजे न्युजिल्यान्ड र आयरल्यान्ड तथा दोस्रो खेलमा दिउँसो पौने २ बजे अस्ट्रेलिया र अफगानिस्तान खेल्दैछन्। यी खेल अस्ट्रेलियाको एडिलेडमा हुनेछन्।
सुपर १२ को समूह ‘१’ मा न्युजिल्यान्ड ४ खेलमा ५ अंककासाथ शीर्ष स्थानमा रहेको छ। समान खेलमा ५ अंक नै भएको इङ्ल्यान्ड दोस्रो अस्ट्रेलिया तेस्रो स्थानमा रहेको छ। श्रीलङ्का ४ खेलमा ४ अंकका साथ चौथो, आयरल्यान्ड ४ खेलमा ३ अंकका साथ पाँचौँ र अफगानिस्तान ४ खेलमा २ अंकसहित पुछारमा छ।
हिजो भएको सुपर १२ समूह ‘२’ को एक मात्र खेलमा पाकिस्तानले दक्षिण अफ्रिकालाई डकवर्थ पद्धतिको आधारमा ३३ रनले हराएर सेमिफाइनल खेल्ने सम्भावना कायमै राखेको छ। पाकिस्तानले अन्तिम खेल आइतवार बङ्लादेशसँग खेल्नेछ।
पाकिस्तानले सेमिफाइनल खेल्न बङ्लादेशलाई फराकिलो अन्तरले हराउनुपर्छ भने आइतवार नै भारत र दक्षिण अफ्रिकाले खेल्ने खेलको नतिजामा पनि भर पर्नेछ। भारतले आइतवार जिम्बाब्वेसँग र दक्षिण अफ्रिकाले नेदरल्यान्डसँग खेल्नेछन्।