कर्णालीबाट हितेन्द्रदेवको स्पष्ट सन्देश– खाडीमा जनश्रम बेचेर होइन, यहीँ बिजुली र श्रमबाट देश धनी बन्छ

काठमाडौं। नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले वैदेशिक रोजगारीमा जनश्रम बेचेर मुलुक समृद्ध नहुने स्पष्ट सन्देश दिएका छन्। कर्णाली प्रदेशको राजधानी सुर्खेतमा आयोजित ‘कर्णाली प्रदेश प्रादेशिक कार्यालय अन्तर्गतका १० उत्कृष्ट ग्राहकलाई सम्मान’ कार्यक्रममा बोल्दै उनले देशभित्रै श्रम र उत्पादनमा जोड दिनुपर्ने बताए।

‘नेपालको जनश्रम बंगाल, अरबको खाडी र मलेसियामा बेचेर देश कहिल्यै धनी हुँदैन,’ शाक्यले भने, ‘यही माटोमा श्रम गर्नका लागि विद्युत सबैभन्दा महत्वपूर्ण र सस्तो कच्चा पदार्थ हो।’ उनले ऊर्जा नै आधुनिक अर्थतन्त्रको मुख्य चालक भएको उल्लेख गर्दै युरोप र अमेरिकाजस्ता विकसित मुलुकमा पनि ऊर्जा उत्पादन र उपभोगले अर्थतन्त्रलाई गति दिएको बताए।

उनले गाउँ–गाउँसम्म विद्युतीकरण पुर्‍याएर उद्योग, व्यवसाय र उत्पादनसँग जोड्न सके मात्रै रोजगारी सिर्जना हुने र जीवनस्तर उकासिने बताए। ‘विद्युत नपाएका ठाउँमा बिजुली पुर्‍याउनुपर्छ र पाएको बिजुलीलाई उत्पादनमा लगाउनुपर्छ,’ उनले जोड दिए।

शाक्यले उत्कृष्ट ग्राहक सम्मान तथा समस्या सुनुवाइ अभियान कोशी प्रदेशबाट सुरु भई मधेस, गण्डकी हुँदै कर्णालीसम्म आइपुगेको जानकारी दिए। उद्योगी–व्यवसायीसँग प्राधिकरणको सम्बन्ध नकारात्मक छ भन्ने भ्रम तोड्न र इमान्दार उपभोक्ताको सम्मान गर्न यो अभियान थालिएको उनको भनाइ थियो।

उनका अनुसार उपभोक्ताले एक रुपैयाँको विद्युत प्रयोग गरेर चार–पाँच गुणासम्म उत्पादन गरी देशको अर्थतन्त्रमा ठूलो योगदान दिइरहेका छन्। ‘त्यहीँबाट रोजगारी सिर्जना हुन्छ र राज्यको अर्थतन्त्र सबल बन्छ,’ उनले भने, ‘त्यसैले यो योगदानको सम्मानलाई संस्कारकै रूपमा विकास गर्न खोजेका हौं।’

कार्यक्रममा प्राधिकरणका उपकार्यकारी निर्देशक दीर्घायूकुमार श्रेष्ठले कर्णाली प्रदेशमा अझै भरपर्दो विद्युत आपूर्तिमा चुनौती रहेको स्वीकार गर्दै छिट्टै सुधार गर्ने प्रतिबद्धता जनाए। प्रादेशिक प्रमुख शशिभूषण साहले कार्यकारी निर्देशक स्वयं कर्णाली आएर उत्कृष्ट ग्राहकलाई सम्मान गर्नु ऐतिहासिक र उत्साहजनक भएको बताए।

उत्कृष्ट उद्योगी–व्यवसायीको तर्फबाट केशव बुढाथोकीले भोल्टेज समस्या र अघोषित लोडसेडिङ अन्त्य गरी नियमित विद्युत आपूर्तिका लागि प्रभावकारी पहल गर्न आग्रह गरे।

 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×