काठमाडौँ - तीव्रगतिका बलर महम्मद शामी भारतका लागि एकदिवसीय अन्तर्राष्ट्रियमा सर्वाधिक छिटो १५० विकेट लिने बलर बनेका छन्। उनले गएराति सम्पन्न इंग्ल्याण्डविरुद्धको एकदिवसीय सिरिज अन्तर्गत पहिलो खेलमा ३ विकेट हात पार्दै यो उपलब्धि हासिल गरेका हुन्।
शामीले अजीत अगरकरको रेकर्ड तोड्दै उक्त रेकर्ड आफ्नो नाममा गराएका छन्। उनले ८० खेलमा १५० विकेट लिएका हुन्। अजीतले ९७ खेलमा यो उपलब्धि हात पारेका थिए। शामीले इंग्ल्याण्डका कप्तान जोस बटलर, बेन स्टोक्स र क्रेग ओभरटनको विकेट लिएका थिए। उक्त खेलमा भारतले १० विकेटको शानदार जित दर्ता गरेको थियो।
एकदिवसीय अन्तर्राष्ट्रियमा सबैभन्दा छिटो १५० विकेट पूरा गर्ने कीर्तिमान भने अस्ट्रेलियाका मिचेल स्टार्कको नाममा रहेको छ। उनले ७७ खेलमा १५० विकेट हात पारेका थिए।