काठमाडौँ - हलिउड स्टुडियो मार्भलले एकैसाथ १० बहुप्रतीक्षित फिल्मको प्रदर्शन मिति घोषणा गरेको छ। मार्भल प्रमुख केभिन फेइगले शनिबार कमिक-कन समारोहमा पाँचौं चरणको रिलिज लाइनअप सार्वजनिक गरेका छन्।
लाइनअपमा एभेन्जर्सका २ सिक्वेल समेत संलग्न छन्। एभेन्जर्स एन्डगेमसँगै सकिएपछि इन्फिनिटी सिक्वेलको रुपमा यी २ फिल्म निर्माण गर्न लागिएको हो। यी सबै फिल्मलाई मार्भलले मल्टिभर्स अफ सागा भनेको छ।
केही महिनाकै अन्तरालमा एभेन्जर्सका २ फिल्म प्रदर्शन हुन लागेका हुन्। ‘एभेन्जर्स : द क्याङ डायनेस्टी’ २०२५ मे २ मा प्रदर्शन हुनेछ भने ‘एभेन्जर्स : सेक्रेट वार्स’ २०२५ नोभेम्बर ७ मा रिलिज हुनेछ।
नोभेम्बर ११ मा रिलिज हुने ‘ब्ल्याक प्यान्थर : वाकान्डा फरेभर’सँगै मार्भलको चौथो चरण सकिनेछ भने ‘आन्ट म्यान एण्ड द वास्प क्वान्टुमेनिया’ २०२५ फेब्रुअरी १७ मा रिलिज भएसँगै पाँचौं चरण सुरु हुनेछ।
मार्सल्ला अली स्टारर ‘ब्लेड’ २०२३ नोभेम्बर ३ मा प्रदर्शन हुनेछ। एन्थोनी म्याकी स्टारर ‘क्याप्टेन अमेरिका : न्यु वर्ल्ड अर्डर’ २०२४ मे ३ मा प्रदर्शन हुनेछ। खलपात्रमा आधारित फिल्म ‘थन्डरबोल्ट्स’ २०२४ जुलाई २६ मा रिलिज भएसँगै मार्भलको पाँचौं चरण सकिनेछ।
‘फ्यान्टास्टिक फोर’ २०२४ नोभेम्बर ८ मा प्रदर्शन भएसँगै मार्भलको छैटौं चरण सकिनेछ। मार्भलले पाँचौं चरणको रिलिजसँगै हल र ओटीटी प्लेटफर्मतर्फ आफ्नो रणनीति केन्द्रित गरेको छ।
कोरोनाभाइरस महामारीका कारण २ वर्ष मार्भल फिल्म ठप्पजस्तै रहेको थियो।