काठमाडौँ - सर्लाहीमा मतदाताको सङ्ख्या चार लाख ७४ हजार ४३९ पुगेको छ।
तीमध्ये पुरुष दुई लाख ५७ हजार १३८ र महिला मतदाता दुई लाख १७ हजार २९२ रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ। निर्वाचन अधिकृत दिवाकर भुजेलका अनुसार यसैगरी अन्य नौजना मतदाता रहेका छन्। सर्लाहीको पालिकामा मतदानस्थल सङ्ख्या ३१८ र जम्मा मतदान केन्द्र सङ्ख्या ५९९ कायम रहेको उनले बताए। सबैभन्दा बढी बरहथवा नगरपालिका र सबैभन्दा कम पर्सा गाउँपालिकामा मतदाता सङ्ख्या रहेको छ। ती स्थानीय तहमा क्रमशः ४३ हजार २०२ र १२ हजार ५२७ मतदाता सङ्ख्या रहेको कार्यालयले जनाएको छ।
सर्लाहीका सुरक्षा अधिकारीहरूले मतदानस्थल र केन्द्रहरूको स्थलगत अनुगमनसमेत गरेका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले जानकारी दिए।