नवौं राष्ट्रिय खेलकुदको पहिलो स्वर्ण पुलिसलाई

काठमाडौँ - नवौं राष्ट्रिय खेलकुदको पहिलो स्वर्ण नेपाल पुलिस क्लबले हासिल गरेको छ। राष्ट्रिय खेलकुद अन्तरगत भएको ३४ औं राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा विभागीय टोली सेनाको त्रिभुवन आर्मी क्लबलाई ८ विकेटले पराजित गर्दै नेपाल पुलिस क्लबले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको पहिलो स्वर्णमा आफ्नो नाम लेखाउन सफल भएको हो।

बर्षाका कारण ८ ओभरमा छोट्याईएको प्रतियोगितामा सेनाले दिएको १०४ रनको लक्ष पुलिसले २ विकेटको क्षतीमा ७ बल बाँकी छँदै भेट्यायो। पुलिसले ६.५ ओभरमा १०५ रन जोड्न सफल भएको थियो।

पुलिसका लागि म्यान अफ द म्याच कुशल भुर्तेलले ३ चौक र ६ छक्काको मद्धतले १९ बलमा ५१ रन जोडेका थिए। उनी जितेन्द्र मुखियाको एलबिडब्लु धरापमा परेर आउट भएका थिए।

यस्तै सुनिल धमलाले १७ बलमा ४२ रनल जोडेका थिए। ४२ रन बनाउने क्रममा २ चौका र ४ छक्का प्रहार गरेका थिए। यसैगरि दिपेन्द्र सिंह एैरीले ४ बलमा ४ रन र आरिफ सेख १ बलमा ६ रनका साथ नटआउट रहे। सेनाका जितेन्द्र मुखिया र सुसन भारीले १/१ विकेट लिएका थिए।

यस अघि टस हारेर ब्याटिङ्गको निम्तो पाएको सेनाले निर्धारित ८ ओरमा ७ विकेटको क्षतीमा १०३ रन जोडेको थियो। विनोद भण्डारीले १४ बलमा ४० रन, रोहित पौडेलले १० बलमा २८ रन, कुशल मल्लले १३ बलमा १३ रन र भिम सार्कीले ४ बलमा ११ रन जोडेका थिए।

पुलिसका गुलशन झाले २, ललित राजबंशीले २, रशिद खान र दिपेन्द्र सिंह ऐरीले १/१ विकेट लिएका थिए। उपविजयी सेनाले रजत पदक प्राप्त गर्यो। तेश्रो स्थानका लागि सुदूरपश्चिम र एनआरएनए बिचको खेल बर्षाका कारण हुन नसके पछि टसबाट निर्णय गरिएको थियो। जसमा सुदूरपश्चिमले जित हात पार्दै कास्य पदक प्राप्त गर्न सफल भएको थियो।

विजयी खेलाडीहरुलाई राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष शिव कोइराला ज्वाला लगायतले पुरस्कार वितरण गरेका थिए।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×