टीकापुर - शुक्रबार सम्पन्न निर्वाचनको मतपेटिका सङ्कलनपछि यहाँका पालिकामा मतगणना कार्य सुरु गर्न थालिएको छ। कैलालीको बर्दगोरिया गाउँपालिकामा मतगणना सुरु भएको छ भने टीकापुरमा मतगणना सुरु गर्ने तयारी गरिएको छ।
निर्वाचन अधिकृत पुष्कर खड्काका अनुसार गोलाप्रथाबाट छनोट गर्दा सबैभन्दा पहिले वडा नं ५ को गणना हुने भएको छ। वडा नं ५ पछि ३, ९, ४, ८, १, ७, २ र ६ नं वडाको गणना हुने भएको छ।
लम्कीचुहा नगरपालिकामा ३३ हजार ९४८ मत खसेको छ। कैलारी गाउँपालिकामा ७८.१२ प्रतिशत मत खसेको छ। जम्मा ३६ हजार ७३५ मतदाता रहेको यो पालिकामा २८ हजार ६९७ भोट खसेको निर्वाचन अधिकृत कृष्णप्रसाद नेपालले जानकारी दिए।
जानकी गाउँपालिकाका केही स्थानमा शुक्रबार बेलुका मतपेटिका उठाउने क्रममा विवाद भएको छ। वडा नं २ मा मतपेटिका उठाउने क्रममा विवाद भएपछि प्रहरीले हवाइ फायर गरेको थियो। जानकीमा अहिले ८ बजे सर्वदलीय छलफल मतगणना सुरु गर्नेबारे समय तोकिने बताइएको छ। जोशीपुर गाउँपालिका र भजनी नगरपालिकामा पनि आजै मतगणना सुरु गर्ने बताइएको छ। सबै ठाउँमा मतपेटिका सङ्कलन भइसकेकाले मतगणना सुरु गरिने छ।
कैलालीको एकमात्र उपमहानगरपालिका धनगढीको मतगणनासमेत आजदेखि नै सुरु हुनेछ। मतपेटिका सङ्कलनमा समय लागेकाले दिउँसोबाट मतगणना थालिने बताइएको छ। धनगढीमा पनि अहिले सर्वदलीय बैठक बसेर छलफलपछि मतगणना गरिने कैलालीका मुख्य निर्वाचन अधिकृत जयानन्द पनेरुले बताए। जिल्लामा निर्वाचन शान्तिपूर्णरुपमा सम्पन्न भएको छ। निर्वाचन कार्यालय कैलालीकाअनुसार कैलालीमा ६५ प्रतिशत मत खसेको छ।
जिल्लामा ६१९ मतदान केन्द्रबाट निर्वाचन भएको हो। १३ स्थानीय तहमा पाँच लाख २५ हजार १२५ मतदाता रहेकामा ६५ प्रतिशत मत खसेको निर्वाचन कार्यालयले जनाएको छ।