चर्चामा एम्बाप्पे र नेइमारको विवाद

काठमाडौँ - विश्वकै उत्कृष्ट खेलाडी किलीयन एम्बाप्पे र नेइमारको विवाद अहिले चर्चामा रहेको छ। पिएसजीले खेलेको पछिल्लो मोन्टपेल्लिएरविरुद्धको खेलमा ५-२ को जित निकाल्ने क्रममा एम्बाप्पे र नेइमारबीचको विवाद सतहमा आएको हाे।

पिएसजीमा आफ्नो सम्झौता नवीकरण गरेपछि एम्बाप्पे प्रमुख खेलाडीको रुपमा क्लबमा रहेका छन्। उनले पिएसजीमा सबैभन्दा बढी पारिश्रमिक पनि लिन्छन्। तर सुपरस्टार खेलाडीहरुले भरिएको पिएसजीमा खेलाडीबीचको विवाद भने मैदानमै देख्न सकिन्छ।

एम्बाप्पेले पछिल्लो खेलमा २३औं मिनेटमा पाएको पेनाल्टी मिस गरेका थिए। उनलाई टिममा पेनाल्टी हान्ने खेलाडीको रुपमा जिम्मेवारी दिइएको बताइन्छ। तर त्यसपछि खेलको ४३औं मिनेटमा पिएसजीले पाएको पेनाल्टी भने नेइमारले हाने र गोल गरेका थिए। सो पेनाल्टी हान्ने क्रममा पनि एम्बाप्पेले आफूले पेनाल्टी हान्ने भन्दै नेइमारसँग गएपनि नेइमारले एम्बाप्पेलाई दिएनन् र आफैले हानेर गोल गरे। यस खेलमा नेइमारले दुई गोल गरेका थिए।

पिएसजीमा पेनाल्टी हान्ने विषयमा यसअघि पनि नेइमार र एडिसन कभानीबीच यस्तै विवाद भएको थियो। पिएसजीमा अहिलेसम्म संघर्ष गरिरहेका नेइमारले यस सिजनमा उत्कृष्ट शुरुवात गरेका छन्। यस सिजन शुरु हुनुअघि नेइमारलाई पिएसजीले बेच्न चाहेको विषय चर्चामा रहेको थियो तर, नेइमारले आफ्नो सम्झौतामा भएको प्रावधानको प्रयोग गर्दै आफ्नो सम्झौता नवीकरण गरेर २०२७ सम्म पुर्याएको विषय बाहिर आएको थियो।

यस सिजनमा नेइमारले ३ खेलमा पिएसजीका लागि ५ गोल गरेका छन् भने ३ गोल असिस्ट पनि गरेका छन्।

यसै खेलमा अर्को घटना लियोनेल मेसी र एम्बाप्पेसँग घटेको छ। मेसीले बल अगाडी बढाइरहेका बेला एम्बाप्पे देब्रेपट्टिबाट कुदिरहेका थिए। तर मेसीले दाहिने पट्टि रहेका खेलाडीलाई बल पास दिएपछि एम्बाप्पे दौडिन नै छोडेका थिए। एम्बाप्पेको यस्तो व्यबहारको अहिले मिडिया र सामाजिक सञ्जालमा निकै आलोचना भइरहेको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×