तनहुँ - नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले तनहुँको भानु नगरपालिका-११ मा बाढीले क्षति पुर्याएका स्थानको सोमबार अवलोकन तथा निरीक्षण गरेका छन्। एक साताअघि वर्षाका कारण बाढी पहिराले क्षति पुगेको स्थानको पौडेलले अवलोकन गरेका हुन्।
नेता पौडेलले ढाँडफेदी, सुन्दर बस्ती, टुहुरेपसललगायतका स्थानको अवलोकन गरेका छन्। स्याउदे खोलाको नव निर्मित पुल क्षतिको अवलोकन, रूपाकोटस्थित सवादीखोलाले बगाएको कजवेको अवलोकन, ढाँडखोलामा आएको बाढीले स्थानीयवासीको घर जोखिम भएको स्थानको उनले निरीक्षण गरे। क्षति भएको क्षेत्रको अवलोकन गर्दै नेता पौडेलले यही असारभित्रै तारजाली हालेर अहिले तत्कालका लागि तटबन्धनको व्यवस्थापन गर्ने काम गर्न निर्देशन दिए।
अहिले तत्कालको लागि ढाँडखोलाबाट बस्तीमा जोखिम देखिएको स्थानमा तारजाली लगाउने र खेतमा पानी पुर्याउनका लागि पाइपको व्यवस्था गरिने उनको भनाइ थियो। सो अवसरमा नेता पौडेलले ढाँडखोलाले बगाएर बेपत्ता भानु-११ का चन्द्रबहादुर गुरुङको परिवारलाई आर्थिक सहयोग समेत गरे। त्यस्तै भानु-११ सुन्दर बस्तीका अर्जुन कुँवरको भत्किएको घरको समेत अवलोकन गरेर परिवारलाई सान्त्वना दिए।
सिँचाइ डिभिजन कार्यालय तनहुँका प्रमुख रमेशराज शर्माले जङ्गलबाट आएको पहिरोले ढाडखोला क्षेत्रमा क्षति पुगेको र तत्कालको लागि तटबन्धन निर्माण गरिने बताए। यसपछि विस्तारै दीर्घकालीनरूपमा योजना बनाएर तटबन्धन गरिने उनले बताए। भानु-११ का वडा सदस्य अजय थापाले बाढीले भानुको ढाँडफेदी क्षेत्रमा ठूलो क्षति पुगेको बताए।
उक्त अवलोकनमा सहायक प्रमुख जिल्ला अधिकारी काशीराम गैरे, सिँचाइ डिभिजन कार्यालय तनहुँका प्रमुख रमेशराज शर्मा, कांग्रेस तनहुँका पूर्व पार्टी सभापति रघुनाथ पौडेल, भानु नगरपालिकाका निवर्तमान प्रमुख उदयराज गौलीलगायत सहभागी थिए। यसैबीच वरिष्ठ नेता पौडेलले उर्जा जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग फोन सम्पर्क गरेर ढाँडखोलाले गरेको क्षतिका कारण बस्ती जोखिममा रहेकाले तटबन्धनका लागि तत्काल व्यवस्था गर्न समेत आग्रह गरे।