काठमाडौँ - नेपाली कांग्रेस मधेसले पार्टीका प्रदेश सदस्य नितेश कुमार गुप्तालाई सूचना संचार र प्रचारप्रसार विभाग प्रमुखको पुनः जिम्मेवारी दिएको छ। मधेस प्रदेश समिति कांग्रेसले अपाङ्गता भएको व्यक्तिलाई समानुपातिक बन्दसूचीमा समावेश नगराएकोमा असन्तुष्टि गुप्ताले पदबाट राजीनामा दिएका थिए। प्रदेश सभापति कृष्णप्रसाद यादवले गुप्ताको राजीनामा अस्वीकृत गरेपछि उनी पुनः जिम्मेवारीमा फर्किएका हुन्।
शुक्रबार कांग्रेस मधेस प्रदेशले गुप्ताको जिम्मेवारी यथावत नै रहेको महामन्त्री वृहस्पतिकृष्ण श्रेष्ठले विज्ञप्तिमार्फत जनाएका छन्। उनले प्रतिनिधि सभा र प्रदेश सभाको उमेदवारलाई विजय गराउन संगठनलाई बलियो बनाउन गुप्तालाई निर्देशन समेत दिएका छन्।
मधेस प्रदेशमा कांग्रेसका गतिविधि विभिन्न माध्यमबाट प्रचारप्रसार हुने गुप्ताले बताए। 'पार्टी बलियो बनाउन मलाई दिएको जिम्मेवारी इमान्दारितापूर्वक निर्वाह गर्छु। कांग्रेस पार्टीले निश्चित रूपमा एक दिन मेरो मुल्यांकन गर्ने छ भन्ने विश्वास छ,' गुप्ताले भने।