काठमाडौँ - अखिल नेपाल फुटबल संघ (एन्फा)ले राष्ट्रिय फुटबल टोलीको कप्तानीको युवा स्ट्राइकर नवयुग श्रेष्ठलाई दिएको छ। एन्फाले मंगलबार राष्ट्रिय फुटबल टोलीको बिदाई गर्दै श्रेष्ठलाई कप्तान चयन गरेको हो। मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरी र सिनियर ११ खेलाडीबीचको विवाद रहँदा नवयुगले कप्तानको जिम्मेवारी पाएका हुन्। यसअघि राष्ट्रिय फुटबल टोली कप्तानको जिम्मेवारी किरण चेम्जोङले सम्हालिरहेका थिए।
मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले उनलाई पहिलो रोजाइकै खेलाडीमा राख्नेछन् । एसिया कप छनोट तेस्रो चरणका लागि टिम कतार जानु अगाडि आयोजित बिदाइ समारोहमा नवयुगलाई कप्तानीको जिम्मेवारी दिने घोषणा गरिएको थियो। इलामका नवयुगले सन् २०१५ मा भारतविरुद्ध पुनामा भएको मैत्रीपूर्ण खेलसँगै नेपालका लागि डेब्यु गरेका थिए।
प्रशिक्षक ध्रुव केसीले नवयुगलाई ५५ औं मिनेटमा सब्स्टिच्युट खेलाडीका रूपमा मैदानमा प्रवेश गराएका थिए। उनी जगजित श्रेष्ठको स्थानमा मैदान छिरेका थिए। अहिलेको घोषित राष्ट्रिय टोलीमा उनी नै सर्वाधिक अनुभवी खेलाडी हुन्। उनले अहिलेसम्म ४० क्याप जितेका छन्। उनको अन्तिम खेल भारतविरुद्ध साफ च्याम्पियनसिपको फाइनल रहेको थियो। नेपालका लागि नवयुगले ७ गोल गरेका छन्। त्यसमा सन् २०१६ को बंगबन्धु गोल्डकपमा गरेको ह्याट्रिक पनि पर्छ।
खेलकुदमन्त्री महेश्वर गहतराजले खेलाडीलाई बिदाई गर्दै छनोट प्रतियोगितामा खेलाडीलाई उत्कृष्ट खेल प्रर्दशन गर्न बताए। एसिया कप छनोटमा नेपाल समूह ‘ए’मा रहेको छ। नेपालको समूहमा कुवेत, इन्डोनेसिया र जोर्डन रहेका छन्। छनोट खेल ८ देखि १४ जुनसम्म हुनेछ। नेपालले ८ जुनमा जोर्डनसँग छनोट खेल खेल्नेछ। नेपालले ११ जुनमा कुवेतको सामना गर्नेछ। नेपालले १४ जुनमा छनोट खेलकैे अन्तिम खेलमा इन्डोनेसियाविरुद्ध खेल्नेछ। हरेक समूहका शीर्ष टोली र पाँच समूहको उत्कृष्ट दोस्रो टोली एसियन कप २०२३ मा छनोट हुनेछन्।
नेपाली टोली
गोलरक्षक : दीप कार्की, विशाल सुनार, टिकेन्द्रसिंह थापा
रक्षापंक्ति : विकास खवास, विकास तामाङ, गौतम श्रेष्ठ, राजन गुरुङ, शिव गुरुङ, सुमन अर्याल
मिडफिल्डर : आकाश बुढा क्षेत्री, एरिक विष्ट, निरकुमार राई, पुजन उपरकोटी, रोशन राना मगर, सन्तोष तामाङ, सेन्सेहाङ आङ्दाम्बे, सुनिल बल, सुरजज्यू ठकुरी
स्ट्राइकर : आयुष घलान, दर्शन गुरुङ, जर्ज प्रिन्स कार्की, मनीष डाँगी, नवयुग श्रेष्ठ