काठमाडौँ - यसैबर्ष अष्ट्रेलियामा हुने टी २० विश्वकप क्रिकेट अघि अष्ट्रेलियाले भारतसँग ३ म्याचको टी २० सिरिज खेल्ने भएको छ। यो खेल भारतमा हुने भएको छ।
अष्ट्रेलियाले अगष्ट-सेप्टेम्बरमा जिम्बावे र न्यूजिल्याण्डसँग एक दिवसीय सिरिज खेल्ने छ। यो सिरजपछि अष्ट्रेलियन टिम भारत भ्रमणमा आउने जनाइएको छ। सेप्टेम्बरमा भारत र अष्ट्रेलियाबीच टी २० सिरिज हुने बताइए पनि तारिख भने सार्वजनिक भइसकेको छैन।
अष्ट्रेलिया १६ अक्टोबरदेखि १३ नोभम्बरसम्म हुने टी २० विश्वकपको तयारी गर्न भारत आउन लागेको हो।
२०२२ मा टी २० सिरिज पछि अष्ट्रेलियाले २०२३ मा चार म्याचको टेस्ट सिरिज खेल्न फेरि आउने छ। यो टेस्ट फेब्रुअरी र मार्चमा हुने छ। यो सिरिज भने विश्व टेस्ट च्याम्पियनसिपको रुपमा रहने छ।
अहिले इन्डियन प्रिमियर लिगमा खेलाडीहरु व्यस्त भएकाले यो प्रतियोगिता पछि भारतीय टिम ५ टी २० म्याचका लागि दक्षिण अफ्रिकालाई स्वागत गर्ने छ। यो सिरिज भने जुन ९–१९ मा हुने भएको छ।