काठमाडौँ - दुर्लभ एक सिङ्गे गैँडा स्थानान्तरणका लागि अध्ययन सुरु गरिएको छ।
चितवन राष्ट्रिय निकुञ्जमा आन्तरिक र बाह्य गैँडा स्थानान्तरणका लागि अध्ययन थालिएको हो। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले उपमहानिर्देशक बेदकुमार ढकालको संयोजकत्वमा अध्ययन समिति बनाएको छ। यो समितिले गैँडासँगै बाह्रसिङ्गे स्थानान्तरणका लागि अध्ययन गर्नेछ। कृष्णसार स्थानान्तरणका लागि अध्ययन गरी प्रतिवेदन तयार भइसकेको छ। अर्ना स्थानान्तरणको अध्ययनसमेत गरिनेछ। अध्ययन समितिका संयोजक ढकालका अनुसार चितवन राष्ट्रिय निकुञ्जमा पश्चिममा गैँडाको सङ्ख्या धेरै रहेको छ। ती गैँडामध्ये केहीलाई पूर्व स्थानान्तरणका लागि अध्ययन थालिएको हो।
कोसीटप्पु राष्ट्रिय निकुञ्जमा चितवनको गैँडा लैजाने विषयमा अध्ययन थालिएको हो। विभागले ढकालको संयोजकत्वमा चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्य, कोसीटप्पु राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र खतिवडा, इकोलोजिष्ट गणेश पन्त, राष्ट्रिय प्रकृति संरक्षण कोषका नरेश सुवेदी, जेडएसएलका भगवानराज दाहाल, विश्व वन्यजन्तु कोषका कञ्चन थापा र सहायक इकोलोजिष्ट हेमराज आचार्य रहेको अध्ययन समिति बनाएको छ। समितिले चितवन र कोसीटप्पुको पहिलो चरणको अध्ययन गरेको छ। ढकालको भनाइमा कोसीटप्पु, बर्दिया र शुक्लाफाँटामा गैँडा स्थानान्तरणको विषयमा अध्ययन भइरहेको छ। विज्ञ समूहहरु पठाएर थप अध्ययन गरिने उनको भनाइ छ।
बर्दियामा ३८ र शुक्लाफाँटामा १७ वटा गैँडा रहेका छन्। चितवन राष्ट्रिय निकुञ्जमा ६९४ गैँडा छन्। पर्सा राष्ट्रिय निकुञ्जमा तीनवटा गैँडा छन्। चितवन र पर्सा जोडिएकाले गैँडा यताउता गरिरहने हुँदा गैँडाको सङ्ख्या घटबढ हुने गर्दछ।पछिल्लो गणनामा देशभरका यी निकुञ्जमा कूल गैँडाको सङ्ख्या ७५२ पुगेको छ। ढकालले तीन-चार महिनामा अध्ययन पूरा गरेर विभागमा प्रतिवेदन बुझाउने बताए। यो वर्ष अध्ययनमा समय लाग्ने भएकाले आउँदो वर्ष स्थानान्तरण गर्न सकिने उनको भनाइ छ। गैँडा स्थानान्तरण गर्न हिउँद पर्खनुपर्छ। विगतमा कोसीमा गैँडा रहेको भन्दै उनले त्यो ठाउँ गैँडाका लागि उपयुक्त हुनसक्ने बताए। उनले भने, “हतारमा हामी काम गर्दैनौँ। विस्तृत अध्ययन गरेर सरोकारवालासँग छलफलसमेत गरेर टुङ्गो लगाउँछौँ।” कोसी गैँडाका लागि उपयुक्त देखिएमा प्रदेश नम्बर १ र मधेश प्रदेशका लागि पर्यटकीय गन्तव्यसमेत हुने उनको भनाइ छ।
यससँगै गैँडाको बासस्थान विस्तारमा यो महत्वपूर्ण हुनसक्छ। चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत आचार्य निकुञ्जको पश्चिमी क्षेत्रमा जोखिममा रहेका गैँडा आन्तरिकरुपमा स्थानान्तरण गर्नुपर्ने देखिएकाले अध्ययन थालिएको बताउँछन्। विसं २०७४ मा बाढीका कारण धेरै गैँडा बगेर भारत पुगेका थिए। केही गैँडा उद्धार गरी फिर्ता ल्याए पनि अरू केही ल्याउन सकिएको छैन। आचार्यले एकै ठाउँमा धेरै गैँडा हुँदा प्राकृतिक कारणले मर्ने क्रमसमेत बढेको बताए। उनको भनाइमा बासस्थानको बिस्तार गरी केही गैँडा पूर्व ल्याउन सकेमा उपयुक्त हुन्छ। अध्ययन समितिले यो विषयमा विस्तृतरुपमा अध्ययन गर्दैछ। घाँसे मैदान र पानीका स्रोत व्यवस्थापन गरी गैँडा पूर्व लैजान लागिएको हो।
निकुञ्जमा गैँडाको सङ्ख्या बढ्दै जाने तर बासस्थानको व्यवस्थापन सङ्ख्याको आधारमा गर्न नसक्दा समस्या देखिएको छ।