काठमाडौँ - बलिउड अभिनेता बिन्दु दारा सिंह यतिबेला काठमाडौंमा छन्। नेपाल वायुसेवा निगमका बोर्ड सदस्य तथा क्याप्टेन सुधीर राईको निम्तोमा नेपाल आएका उनी सोमबार भारत फर्कंर्दैछन्।
तीन दिनअघि नेपाल आइपुगेका उनले सोमबार न्युरोडस्थित वायुसेवा निगमको मुख्यालय भ्रमण गरेका छन्। साथै, यसबीचमा काठमाडौंका रमणीय स्थलमा घुमघाम पनि गरे।
नेपालको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले अभिनेता दारा सिंहलाई नेपाल भ्रमणमा ल्याएको जानकारी क्याप्टेन राईले दिएका छन्। हिन्दू धर्मग्रन्थ रामायणमा आधारित सिरियलमा हनुमानको भूमिका निर्वाह गरेका सिंहले काठमाडौंमा रामायण नाटक प्रस्तुत गर्न चाहेको बताएका छन्।
यसअघि पनि पत्नीसहित नेपाल आइपुगेका उनले नेपाल आउँदा आफूलाई शान्ति मिल्ने समेत बताएका छन्।
सन् १९९४ को फिल्म करणबाट अभिनयमा डेब्यु गरेका सिंह नेपालमा समेत चर्चित छन्। उनले गर्व, मैने प्यार किया, पार्टनर खुस्बु, कम्बत इस्क, सन अफ सर्दार, हाउसफुलका दुवै सिक्वेल र बिग बोसमा अभिनय गरेका छन्।