काठमाडौँ - त्रिभुवन आर्मी फुटबल क्लब इसुजु चितवन गोल्डकप च्याम्पियन बनेको छ। नारायणगढको क्याम्पा चौरमा सोमबार सम्पन्न फाइनल खेलमा अर्को विभागीय टोली सशस्त्र प्रहरी बल(एपिएफ) एफसीलाई २-० ले पराजित गर्दै आर्मीले उपाधि जितेको हो।
आर्मीको तर्फबाट दुवै गोल सुदील राईले गरेका थिए। पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो।
दोस्रो हाफको तेस्रो मिनेटमा सुदीलले गोल गर्दै आर्मीलाई अग्रता दिलाएका थिए। कप्तान जर्ज प्रिन्स कार्कीको पासमा उनले गोल गरेका थिए। खेल सकिन १ मिनेट बाँकी रहँदा सुदीलले नै व्यक्तिगत दोस्रो गोल गर्दै आर्मीको जित सुनिश्चित गरेका थिए। उनी खेलको ‘म्यान अफ दि म्याच’ समेत भए। विजेता आर्मीले ७ लाख रुपैयाँ प्राप्त गरेको छ।
उपविजेता एपिएफले ३ लाख ५० हजार रुपैयाँ प्राप्त गरेको छ। एपिएफका हरि कार्की गोल्डकपको सर्वोकृष्ट खेलाडी घोषित भएका छन्। केबिए ग्लोबल भरतपुर फुटबल क्लबका राज भुसाल सर्वाधिक गोलकर्ता बनेका छन्। उनले गोल्डकप भर ७ गोल गरेका थिए।
यस्तै आर्मीका विश्वास चौधरी सर्वोकृष्ट गोलरक्षक घोषित भए। उनीहरूले नगद २०-२० हजार रुपैयाँ प्राप्त गरेका छन्। भरतपुर फुटबल क्लबको आयोजनामा सम्पन्न गोल्डकपमा २ ए डिभिजन र २ विदेशीसहित १० टोली सहभागी थिए।