इंग्ल्यान्डमाथि अष्ट्रेलियाको सानदार जित

काठमाडौँ - अष्ट्रेलियाले पहिलो ओडिआई खेलमा इंग्ल्यान्डमाथि ६ विकेटको सानदार जित हात पारेको छ। योसँगै ३ ओडिआई खेलको सिरिजमा १-० को अग्रता लिएको छ.

जितको लागि २ सय ८८ रनको विजयी लक्ष्य पछ्याएको अष्ट्रेलियाले ४६.५ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो। अष्ट्रेलियाको जितमा स्टिभ स्मिथ ७८ बलमा ९ चौका र १ छक्कासहित ८० रनमा अविजित रहेका थिए।

ओपनर डेविड वार्नर र ट्रविस हेडले १९.४ ओभरमा १ सय ४७ रनको साझेदारी गर्दै सानदार सुरुवात दिलाएका थिए। वार्नर ८४ बलमा १० चौका र १ छक्कासहित ८६ रनमा आउट भए । वार्नर डेविड विल्लीको बलमा साम बिलिंग्सबाट आउट भएका थिए।

हेड ५७ बलमा १० चौका र १ छक्कासहित ६९ रन, मार्नस लाबुसेन ४ र एलेक्स केरी २१ रनमा आउट भए। क्यामरन ग्रीन २० रनमा अविजित रहे। इंग्ल्यान्डका डेविड विल्लीले २, क्रिस जोर्डन र लियाम डावसनले १/१ विकेट लिएका थिए।

एडिलेड ओभलमा टस हारेर पहिला ब्याटिङ थालेको इंग्ल्यान्डले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय ८७ रन बनाएको थियो। इंग्ल्यान्डका डेविड मलानले १ सय २८ बलमा १२ चौका र ४ छक्कासहित १ सय ३४ रनको सानदार शतकीय इनिङ खेलेका थिए।

हारको बाबजुद सानदार शतकीय इनिङ खेलेका इंग्ल्यान्डका डेविड मलान खेलको प्लेयर अफ द म्याच चुनिए। मलान बाहेक अन्य ब्याटरको प्रदर्शन भने राम्रो हुन सकेन। ओपनर जेसन रोय ६ र फिलिप साल्ट १४ रनमा आउट भएका थिए।

जेम्स भिन्स ५, साम बिलिंग्स १७, जस बटलर २९ र क्रिस जोर्डन १४ रनमा आउट भएका थिए। डेविड विल्ली ४० बलमा ३ चौकासहित ३४ रनमा अविजित रहेका थिए।

अष्ट्रेलियाका कप्तान प्याट कमिन्सले १० ओभरमा ६२ रन खर्चेर ३ विकेट लिए। एडम जाम्पाले १० ओभरमा ५५ रन खर्चेर ३ विकेट लिए  मिचेल स्टार्क र मार्कस स्टोइनिसले एक १ विकेट लिएका थिए। दोस्रो खेल शनिबार र तेस्रो खेल मंगलबार हुनेछ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×