पाेखरा - नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत जारी खेलमा विभागीय टिम नेपाल आर्मी क्लबले एक सय ६० पदकसहित फराकिलो अग्रता बनाएको छ। गण्डकी प्रदेशमा जारी खेलमा हालसम्म छ सय १९ पदकको छिनोफानो हुँदा आर्मीले ७४ स्वर्ण, ५१ रजत र ३५ कांस्य पदकसहित कूल एक सय ६० पदक हात पारेको छ।
प्रतियोगितामा विभागीय टिम नेपाल पुलिस क्लब ३० स्वर्ण, २४ रजत र ३७ कांस्य पदकसहित ९१ पदक हात पारेको छ। त्यस्तै अर्को विभागीय टिम एपीएफले २७ स्वर्ण, ३१ रजत र ४४ कांस्य पदकसहित कूल एक सय दुई पदक हात पारेको छ। प्रतियोगितामा बागमती प्रदेशले १५ स्वर्ण, २३ रजत र २६ कांस्य सहित कुल ६४ पदक जित्दा गण्डकी प्रदेशले १२ स्वर्ण, १२ रजत र २९ कास्य पदकसहित ५३ पदक हात पारेको छ।
त्यस्तै सुदूरपश्चिम प्रदेशले ७ स्वर्ण, ३ रजत र १६ कांस्यसहित २६ पदक, एनआरएनएले छ स्वर्ण, ६ रजत र ४ कांस्यसहित १६ पदक, मधेस प्रदेशले ५ स्वर्ण, ५ रजत र १४ कांस्य पदकसहित २४ पदक तथा प्रदेश १ ले तीन स्वर्ण १४ रजत र ३० कांस्यसहित ४७ पदक जितेका छन्।
लुम्बिनी प्रदेशले २ स्वर्ण, १२ रजत र १७ कांस्यसहित ३१ तथा कर्णाली प्रदेशले १ स्वर्ण, १ रजत र ३ कांस्यपदक सहित ५ पदक हात पारेको आयोजक राष्ट्रिय खेलकुद परिषद्ले जनाएको छ। प्रतियोगिता अन्तर्गतका खेलहरु जारी रहेका छन्।