काठमाडौँ - नेपाली चलचित्र ‘कबड्डी–४’ले ग्रस कलेक्सनमा ऐतिहासिक रेकर्ड कायम गरिरहेको छ। हालसम्मकै सर्वाधिक शो पाउने चलचित्रको रेकर्ड बनाएको चलचित्रले कलेक्सनमा पनि नयाँ रेकर्ड कायम गरिरहेको छ।
पाँच दिनमा चलचित्रले १२ करोड ५५ लाख रुपैयाँ भन्दा बढि कलेक्सन गरेको छ। यो हालसम्मकै छोटो समयमा भएको धेरै कलेक्सन हो। कलेक्सन भएको पुरै रुपैयाँ चलचित्रको मुनाफा हो। रिलिज हुनु अगाडि नै चलचित्रले डिजिटल र ओभरसिज राइट्सबाट लगानी उठाई सकेको थियो।
गत शुक्रबारबाट यो चलचित्र रिलिज भएको हो। “चलचित्रले अहिले पनि उत्साहजनक रुपमा व्यापार गरिरहेको छ। अझै केही समय चलचित्रले राम्रो कलेक्सन गर्ने हाम्रो अपेक्षा छ,” चलचित्र वितरक गोविन्द शाही भन्छन्।
यो चलचित्रले क्यूएफएक्समा मात्रै ९८ शो पाएको थियो। यसअघि सबैभन्दा धेरै शो पाउने चलचित्र ‘केजीएफ च्याप्टर–२’ थियो। जसले ८० शो पाएको थियो। ओपनिङ डेज हाउसफुल व्यापार गरेको चलचित्रले चार दिनमै १० करोडको आंकडा पार गरेको हो। चार दिनमा १० करोड ग्रस कलेक्सन गर्ने ‘कबड्डी–४’ नेपालमा नै पहिलो चलचित्र हो।
रामबाबु गुरुङले निर्देशन गरेको चलचित्रमा दयाहाङ राई, मिरुना मगर, सौगात मल्ल, बुद्दि तामाङ, विजय बराललगायत कलाकारको मुख्य भूमिका रहेको छ।