बाँके - बाँकेको राप्तीसोनारी गाउँपालिकाअन्तर्गतका नदी तथा खोलामा भइरहेको नदीजन्य पदार्थको उत्खनन रोक्न जनप्रतिनिधि खटिएका छन्। गाउँपालिकाले बिहीबारदेखि स्थलगतरूपमा अनुगमन सुरु गरेको छ।
गाउँपालिका अध्यक्ष तप्त पौडेलका अनुसार गाउँपालिकाका नौवटै वडाका वडाध्यक्षसहित १७ कार्यपालिका सदस्य, कर्मचारी, प्राविधिक, सुरक्षाकर्मीसहितको टोलीले स्थलगत अनुगमन गरेको हो। टोलीले राप्ती सोनारी गाउँपालिका–४, ५ र ६ का विभिन्न स्थानमा पुगी घाटगद्दी गरेर राखिएका नदीजन्य पदार्थको नापजाँच गरेको छ।
गाउँपालिकाले कार्यपालिका बैठकबाट निर्णय गराएर नदीजन्य पदार्थको नियमन सुरु गरिएको पौडेलले बताए। क्रसर उद्योग र घाटगद्दीको स्थलगत अनुगमन गरी नियम, कानुनअनुसार आवश्यक कागजात माग गर्ने र त्यहाँ रहेका नदीजन्य सामग्रीको मात्रा जाँच गरी सो को खरिद वा संकलनका स्रोतको यकिन गर्ने गरिएको छ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सिंहराज डाँगीका अनुसार अनुगमनका क्रममा अधिकांश क्रसर उद्योग नियमविपरीत चलेको पाइएको छ। कतिपय उद्योगलाई आफ्ना कागजातसहित सात दिनभित्र गाउँपालिकामा सम्पर्क गर्न र तोकिएको राजस्व बुझाउन निर्देशन दिइएको छ। राप्तीसोनारी गाउँपालिकाले खैरीखोला, मुगुवाखोला, टिकुलीपुरघाट, सिंधनियाघाट, बग्दैलाघाट, लालपुरघाट, आलिनगर खल्लाटपरीघाट, जलालाघाट, परुवाखोला, झिझरीखोलालाई निषेधित क्षेत्र कायम गरिएको छ।
गाउँपालिकाले चालु आर्थिक वर्ष २०७८/७९ मा यहाँका नदी तथा खोलामा ठेक्का लगाउन नसक्दा अवैधरूपमा नदीजन्य पदार्थको उत्खनन गरी चोरी निकासी हुँदै आएको छ। राप्ती नदीको नदीजन्य पदार्थको अवैध उत्खनन रोकेर गाउँपालिकाले आगामी आव २०७९/८० देखि नदी तथा खोलामा ठेक्का लगाउने तयारी गरेको डाँगीले बताए।