काठमाडौँ - मोफसलको टोली कास्की लामा टेन्डी शेर्पा स्मृति खुला बास्केटबल प्रतियोगिताको पुरुषमा आइतबार क्वाटरफाइनलमा प्रवेश गरेको छ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको समूह ‘ए’ को लिग खेलमा कास्कीले बीएमकेलाई ९४–९२ को झीनो अन्तरले पराजित गर्दै उपविजेताका रुपमा क्वाटरफाइनलमा पुग्यो। कीर्तिपुर नगरपालिका समूह विजेता बन्दै क्वाटरफाइनलमा पुगिसकेको छ। कास्कीका पुष्कल छन्त्यालले २१ अंक जोडे। बीएमकेका दीपसन कार्कीले ४४ स्कोर गरेपनि टिमलाई जित दिलाउन सकेनन्।
नेपाल बास्केटबल संघद्वारा आयोजित प्रतियोगिताको पुरुषमै टाइम्स समूह ‘सी’ को विजेता बन्दै क्वाटरफाइनलमा पुग्यो। टाइम्सले रोयल बास्केटबल एकेडेमीलाई ८३–७८ ले हरायो। आ–आफ्नो टिमका लागि टाइम्सका सदीश प्रधानले २९ तथा रोयलका निकेश मगरले २७ स्कोर गरे। हारका बावजुद रोयल पनि समूह उपविजेताका हैसियतले क्वाटरफाइनलमा स्थान बनाउन सफल भयो। पुरुषमा क्वाटरफाइनल समीकरण तयार भएको छ। क्वाटरफाइनल कीर्तिपुर र रोयल, नेपाल आर्मी र क्याम्पियन सोलो, टाइम्स र कास्की तथा गोल्डेनगेट र ड्रिम टिमबीच हुनेछ।
महिलाको राउन्ड रोविन लिगमा ललितपुर हाइले रुपन्देहीमाथि सहज जित रच्ने क्रममा ७९–२७ को प्रदर्शन गर्यो। ललितपुरकी मुना महर्जनले १९ अंक जोड्दा रुपन्देहीकी दीपिका गुरुङले १३ अंक आफ्नो नाममा लेखाइन्।