काठमाडौँ - रियाल मेड्रिडबाट अमेरिकाको मेजर लिग सकर पुगेका वेल्स फरवार्ड गेरेथ बेलको गोलको मद्दतमा लस एन्जेल्स फुटबल क्लब (एलएएफसी) विजयी भएको छ।
बेलले आफ्नो नयाँ क्लब लस एन्जेल्स फुटबल क्लब (एलएएफसी) बाट डेब्यु गरेका खेलमै गोल गरेर जित दिलाएका हुन्। आइतबार भएको खेलमा एलएले नासभिललाई २-१ गोलअन्तरले पराजित गरेको थियो।खेलमा बेलसँगै इटालियन डिफेन्डर जिओर्जियो किएलिनीले पनि क्लबबाट डेब्यु गरेका छन्। किएलिनीले सुरुवाती रोजाईमा खेल्दै डेब्यु गर्दा बेल भने दोस्रो हाफमा मैदान प्रवेश गरेका थिए।
एलएले २७औं मिनेटमा क्रिस्टियन अराङ्गोको सानदार एकल गोलमा अग्रता लिएको थियो। पहिलो हाफको २ मिनेट समय बाँकी हुँदा नासभिलले बराबरी गोल फर्काएको थियो।
हानी मुख्तारले पेनाल्टीमा गोल गर्दै नासभिललाई बराबरीमा ल्याएका थिए। दोस्रो हाफको पहिलो मिनेटमा जोसे किफुएन्टेसले गोल गर्दै एलएको अग्रता पुनःस्थापना गरेका थिए। उनले पोस्टमा लागेर फर्केको रिबाउन्ड बललाई गोलमा परिणत गरेका थिए।
किएलिनी खेलको ६०औं मिनेटमा परिवर्तन भएका थिए। उनको स्थान एडी सेगुराले लिएका थिए। त्यस्तै, बेल भने गोलकर्ता अराङ्गोको स्थानमा ७२औं मिनेटमा मैदान प्रवेश गरेका थिए। अंक तालिकामा एलएएफसी २० खेलमा ४२ अंकसहित शीर्ष स्थानमा छ।