युसुफ पठानको आक्रामक ब्याटिङ, गेलको अर्धशतक

काठमाडौँ - पूर्व भारतीय अलराउन्डर युसुफ पठानको आक्रामक ब्याटिङमा भिलवारा किंग्सले लेजेन्ड्स क्रिकेट लिगमा गुजरात जायन्ट्सलाई ५ विकेटले पराजित गरेको छ।

जितको लागि १ सय ८७ रनको विजयी लक्ष्य पछ्याएको किंग्सले १९.४ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्यो। युसुफ पठान १८ बलमा ४ छक्का र १ चौकासहित ३९ रनमा आउट भएका थिए। २ विकेट लिँदै अलराउन्ड प्रदर्शन गरेका पठान खेलको प्लेयर अफ द म्याच चुनिए।

जेसल कारिया २४ बलमा ६ चौका र १ छक्कासहित ३९ र कप्तान इरफान पठान १४ बलमा २ चौका र १ छक्कासहित २६ रनमा अविजित रहेका छन्। ओपनर विलियम पेटरफोर्ड ४०, मोर्न भ्यान २६ र शेन वाटसन १ रनमा आउट भएका थिए। गुजरातका ग्रीम स्वामले सर्वाधिक २ विकेट लिएका थिए।

त्यसअघि जोधपुरमा टस हारेर पहिला ब्याटिङ थालेको गुजरातले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ८६ रन जोडेको थियो। गुजरातका क्रिस गेलले ४० बलमा ९ चौका र ३ छक्कासहित सर्वाधिक ६८ रनको योगदान दिए। ४३ वर्षीय गेललाई किंग्सका शेन वाटसनले १४ औं ओभरको चौथो बलमा युसुफ पठानबाट क्याच गराएका थिए।

आक्रामक ब्याटिङ गर्नेक्रममा गेलले युसुफ पठानलाई एकै ओभरमा ३ चौका र २ छक्का हान्दै कुल २५ रन जोडेका थिए। आठौं ओभरको दोस्रो, तेस्रो र पाँचौं बलमा गेलले पठानलाई चौका हानेका थिए। चौथो र छैटौं बलमा छक्का हानेका थिए। त्यसपछि पठानले पुन बलिङ पाएनन्।

ओपनर लेन्डन सिमन्सले १८ बलमा ५ चौकासहित २२ रन बनाएका थिए। कप्तान पार्थिव पटेल र केभिन ओ ब्रायन ४ रनमा आउट भए। यी दुबै युसुफ पठानको बलमा आउट भएका थिए। मध्यक्रमका यशपाल सिंह ३७ बलमा ६ चौका र २ छक्कासहित ५८ रन बनाएका थिए।

थिसरा परेरा ११ बलमा १ चौका र १ छक्कासति १९ रनमा आउट भएका थिए। किंग्सका युसुफ पठानले २ ओभरमा ३४ रन खर्चेर २ विकेट लिएका थिए। श्रीसान्त, सुदीप त्यागी र शेन वाटसनले १/१ विकेट लिएका थिए।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×