काठमाडौँ - पेरिस सेन्ट जर्मनका युवा खेलाडीले कतारमा जारी विश्वकपमा उत्कृष्ट प्रदर्शन गरिरहेका छन्। रियल मड्रिडको एकेडेमीबाट खारिएका उनले कलिलो उमेरमा नै मोरक्कोका लागि ५० खेल पुरा गरिसकेका छन्।
हर्भ रेनार्डले हकिमीलाई मात्र १७ वर्ष ११ महिना र ७ दिनको उमेर डेब्युको अवसर दिएका थिए। मोरक्कोका लागि खेल्ने हकिमी दोस्रो कम उमेरका खेलाडी हुन्। उनीभन्दा अघि हचिम मस्तुरले सन् २०१५ मा डेब्यू गरेका थिए। तर, त्यसयता उनले राष्ट्रिय टोलीमा स्थान पाएका छैनन्।
लिग वानको इतिहासमा सबैभन्दा महँगो डिफेन्डर बनेका हकिमी निकै खटेर खेल्ने खेलाडीमा पर्छन्। रियलमा खेल्ने मौका नपाएपछि उनी ऋणमा जर्मन क्लब बोरुसिया डर्टमण्ड पुगेका थिए। त्यहाँबाट इन्टर मिलान पुगेका उनी सन् २०२१ मा पीएसजीसँग आबद्ध भएका हुन्।
पहिलो सिजन भने उनका लागि सुखद रहेन। माउरिसियो पोचेटिन्होको खेल्ने शैली हकिमीसँग नमिल्दा उनले आफ्नो पूर्ण क्षमतामा खेल्न सकेनन्। अहिले उनले ४६ खेलमा पीएसजीका लागि ७ गोल गरिसकेका छन्।
रियलमा छँदा च्याम्पियन्स लिग, युईएफए सुपर कप, फिफाल क्लब विश्वकप जितेका उनले इटालियन सिरिए ए र लिग वानको उपाधि जितिसकेका छन्। यस विश्वकपमा सर्प्राइज टोली रहेको मोरक्कोले शनिबार साँझ पोर्चुगलको सामना गर्दैछ। यस खेलमा हकिमीको प्रदर्शनमा मोरक्कोका समर्थकको अपेक्षा रहनेछ।