धनुषा । प्रदेश २ को नामाकरण अझै हुन सकेको छैन । प्रदेश सभामा पेश भएका कुनै पनि नामममा सहमती हुन नसक्दा अब त्यसको लागि मतदान हुने भएको हो । प्रदेश २ का सभामुख सरोजकुमार यादवले बोलाएको सर्वदलीय बैठकमा प्रदेशको नाम र राजधानीको प्रस्तावमा मतदान गर्ने सहमति भएको बताइएको छ ।
सभामुख यादवको सभापतित्वमा गठनभएको संसदीय समितिबाट प्रदेशसभामा दर्ता भएका मधेस, जानकी, मिथिला भोजपुरा, मध्य मधेस मध्य कुन नाम राख्ने भनि गरिएको छलफलमा कुनै प्रस्तावमाथि सहमति जुट्न सकेको थिएन । त्यसै गरि प्रदेश राजधानी जनकपुरधाम र वीरगञ्ज मध्य कुन राख्ने भन्नेमा पनि सहमति जुट्न सकेको थिएन ।
प्रदेशसभा सचिवालयले माघ पहिलो सातामा मतदानबाट प्रदेशको नाम र स्थायी राजधानी टुंगो लगाउन सबै दलसँग सहमति भएको बताएको छ । मतदानबाट प्रदेशको नाम र राजधानी टुंगो लगाउन दुई तीहाइ बहुमतको आवस्यक पर्दछ ।