काठमाडौँ - १७ भदौबाट सार्वजनिक प्रदर्शनमा आउने फिल्म ‘सम्हालिन्छ कहिले मन’ को शिर्ष गीत सार्वजनिक गरिएको छ। गायक सुगम पोखरेलको लोकप्रिय गीत ‘सम्हालिन्छ कहिले मन’लाई रि-रेकर्ड गरेर तयार पारिएको गीत सोमवार राजधानीमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको हो।
सुगमकै स्वर र सुरेश भट्टराईको शब्द रहेको गीतको ओरिजिनल संगीतकार जेम्स प्रधान हुन्। गीतमा अभिनेता आकाश श्रेष्ठ, अभिनेत्री पूजा शर्मा र नवअभिनेता सोनम तोप्देनको अभिनय रहेको छ। संवादसहितको गीतमा उनीहरुको त्रिकोणात्मक प्रेम कथालाई बुनिएको छ।
सुदर्शन थापाको निर्देशनमा तयार भएको फिल्ममा पूजा, सोनम र आकाशसँगै गौरी मल्ल, सरोज खनाल, धिरेन शाक्य लगायतका कलाकारको पनि अभिनय रहेको छ।
गायक समेत रहेका सोनमले यही फिल्मबाट अभिनेताको रुपमा डेब्यू गर्दैछन्। एवि इन्टरनेशनलको ब्यानरमा निर्माण भएको फिल्मको कथा महेश दवाडीले लेखेका हुन्।
अर्जुन पोखरेल, ताराप्रकाश लिम्बु र जेम्स प्रधानको संगीत, कविराज गहतराजको कोरियोग्राफी, अर्जुन जिसीको सम्पादन रहेको फिल्मको निर्मातामा अमित बस्नेत, सह-निर्मातामा परी राना र अजितकुमार थापा, कार्यकारी निर्मातामा सनिस खकुरेल र अंकित गौतम रहेका छन्।