महेन्द्रनगर- जनप्रतिनिधि नहुँदा पनि कञ्चनपुरको महेन्द्रनगर क्षेत्रमा असाहय, विपन्न र साधुसन्तलाई सहयोग गरिरहने भीमदत्त नगरपालिका–१ का वडाध्यक्ष आसेफ कुँवर (भुन्टु)ले चार वर्षसम्म आफूले पाउने पारिश्रमिक लिनु भएन। राजनीतिमा लागेको छोटो समयमै वडाध्यक्षमा निर्वाचित कुँवरले चार वर्षमा आफुले पाउन सबै पारिश्रमिक समाजसेवामा खर्चिए।
वडाध्यक्ष कुँवरले वडाका ज्येष्ठ नागरिक, एकल महिला र अपाङ्गता भएका व्यक्तिको मनमात्रै जितेनन्, पारिश्रमिक बस्तीमै गएर वितरण गरेपछि उनको चर्चा चुलियो। वडाध्यक्ष हुनुअघि नै चुनावी घोषणाका क्रममा आर्थिक मुनाफालाई बेवास्ता गर्ने घोषणा गरेका कुँवरले चार वर्षसम्म पारिश्रमिकवापत पाएको रु १२ लाख वडामै वितरण गरेका छन्।
“यो पाँचाँै वर्षको रकम पनि वितरण गर्छु”, कुँवरले भन्नुभयो, “मैले चर्चामा आउनलाई पारिश्रमिक नलिएको होइन।” हरेक वर्ष उहाँले वडाका ज्येष्ठ नागरिक, एकल महिला तथा अपाङ्गता भएका व्यक्तिलाई आफूले पाउने पारिश्रमिक हस्तान्तरण गर्दै आउएका छन्। वडाध्यक्ष कुँवरले वडामा समस्या लिएर आउनेलाई कहिल्यै निराश बनाएर फिर्ता गरे।
“जनप्रतिनिधि भएर तलब सुविधा पाउँला भनेर निर्वाचनमा होमिएको होइन”, कुँवरले भने, “निःस्वार्थ भावनाले जनताको सेवा गर्नु आफ्नो कर्तव्य ठानेँ।” उहाँले सेवासुविधा गाउँमै वितरण गर्नुका साथै सडक, तटबन्ध, स्वास्थ्य सेवा विस्तार, शिक्षा, खानेपानीलगायत क्षेत्रमा पनि काम गरेका छन्।
त्यसैगरी कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१० का वडा सदस्य लक्ष्मी शाहले पनि सामाजिक कार्यमा आफ्नो सक्रियता देखाउँदै आएका छन्। गत वर्षदेखि चिसो मौसममा भत्तालगायत आफूले पाउने रकमबाट न्यायो लुगा वितरण गर्दै आएकी शाहले यस वर्ष पनि ६० एकल महिला र असाहयलाई कम्बल वितरण गरेका छन्।
“वडामा वडा सदस्य निर्वाचित भएयता मैले पालिकाबाट कुनै आर्थिक लाभ लिने सोचसम्म गरिनँ”, उनले भने, “सुरुआतमै मैले आफूले पाउने सेवा सुविधावापतको रकम जनताकै हितका खर्च गर्न अठोट लिएकी हुँ।” उनले मानवअधिकार एकल महिला समूह शुक्लाफाँटा नगरस्तरीय कमिटीका अध्यक्ष शान्ति धामीलाई सो सामान हस्तान्तरण गरेका छन्।
आफू जनप्रतिनिधि नरहे पनि समाजसेवामा सक्रिय रहने शाह बताउछन्। “स्थानीय तहमा बढी भ्रष्टाचार भयो भनेर खबरहरु धेरै आउँछन्”, उनले भने, “समाजका लागि निःस्वार्थ भावना बोकेर जनताको सेवामा समर्पितहरूले पनि टाउको निहुराउनुपर्ने स्थिति छ।” वडा सदस्य शाहले गत वर्ष पनि वडाका ९६ असाहय तथा ज्येष्ठ नागरिकलाई कम्बल वितरण गरेका थिए।
“झलारीको बर्थिङ सेन्टरमा पुग्दा त्यहाँ सुत्केरी र बच्चाको जाडोले बेजोग देखेपछि कम्बल वितरण गरेँ” उनले भने, “यहाँका सडक छेउमा बस्नेदेखि साधुसन्तलाई पनि न्यायो लुगा वितरण गरे।” वडामा महिला तथा पुरुषका लागि विभिन्न आयमूलक लक्षित कार्यक्रम सञ्चालन भइरहेको उनले बताए। “शुक्लाफाँटा नगरपालिकाबाट पनि सामाजिक जिम्मेवारीलाई बोध गरे नगरको बजेटबाट विपन्न समुदायलाई सहयोग गरिएको छ”, उनले भने, “सकेजति राम्रो गर्दै जाने हो।”