कास्की - गण्डकी बहुप्राविधिक शिक्षालयको आयोजनामा स्थानीय उत्पादनलाई बढवा दिँदै स्वरोजगारीका अवसर सिर्जना गर्ने उद्देश्यले सञ्चालन भएको कपडाको चप्पल बनाउने तालिम सम्पन्न भएको छ। पोखरा महानगरपालिकाको समन्वयमा शिक्षालयको स्वीकृत पाठ्यक्रममा आधारित रहेर ६० घण्टाको उक्त तालिममा स्थानीय २० महिलाको सहभागिता थियो।
शिक्षालयका निर्देशक लक्ष्मण तिमिल्सिनाले आर्थिक सशक्तीकरणका लागि सीपमूलक तालिमको आवश्यता औँल्याउँदै शिक्षालयले बजारमा माग भएबमोजिमको दक्ष जनशक्ति र उत्पादनमा जोड दिन तालिम प्रदान गर्दै आइरहेको बताए। उनका अनुसार प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्को स्वीकृत बजेट तथा कार्यक्रम र पोखरा महानगरपालिकाको संयुक्त साझेदारीमा तीनमहिने मोटरसाइकल रिपेयरिङ तालिम, इसिडी सहजकर्ता तालिम, सिलाइकटाइ तालिम, स्थानीय बाजा बजाउने तालिम, प्लमबिङ तह एकका तालिम सञ्चालन भइरहेका छन्।
तालिममा छनोट भएका सहभागीलाई कुनै शुल्क लाग्ने छैन भने तालिममा प्रयोग हुने सामग्री पूर्ण व्यवस्थापन गरिने छ। तीन सय ९० घण्टे तालिमका लागि भने सीप परीक्षण परीक्षा अनिवार्य गरिएको छ। पोखरा महानगरपालिकाले महिलालाई आत्मनिर्भर बनाउन उपप्रमुखसँग महिला कार्यक्रम, पोखरा उद्योग वाणिज्य सङ्घ, पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एशोसिएशन, बुटिक एशोसिएशनलगायतका सङ्घ सस्थासँग समझदारी गरिएको कार्यक्रम व्यवस्थापक सन्तोष शर्माले जानकारी दिए। उनले टोलसँग समन्वय गरेर तालिम प्रदान गरिएको हो।
कार्यक्रममा पोखरा महानगरपालिका नगरसभा सदस्य तनुजा थापाले स्थानीयस्तरमा बनेका चप्पल उचित बजार व्यवस्थापनका लागि पोखरा –१४ ले सहजीकरण गर्ने बताए। तालिममा भवानी टोल महिला समूहका अध्यक्ष कल्पना कार्की, पोखरा महानगरपालिका नगरसभा सदस्य दिलकुमारी गुरुङ, गण्डकी बहुप्राविधिक शिक्षालयका शैक्षिक प्रमुख सरोज अधिकारी, शिक्षालय कर्मचारी अस्मिता खनाल र सहभागीहरू जानुका केसी, लक्ष्मी रानाभाटलगायतले तालिमका बारेमा आफ्नो धारणा एवं अनुभव राखेका थिए।