काठमाडौँ - स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले पहिलो जीत आत्मसाथ गरेको छ। गयराति भएको खेलमा बार्सिलोनाले रियल सोसिडाडलाई ४-१ गोल अन्तरले पराजित गरेको हो।
बार्सिलोनाको जीतमा रोवर्ट लेवान्डोस्कीले २ गोल गर्दा ओस्मान डेम्बेले र अन्सु फातिले समान १ गोल थपेका थिए। रियाल सोसिडाडका लागि एलेक्जेन्डर इस्कले १ गोल फर्काएका थिए।
रियाल सोसिडाडको मैदानमा लेवान्डोस्कीले खेलको पहिलो मिनेटमै गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए। छैटौं मिनेटमा इस्कले बराबरी गोल गरेका थिए। पहिलो हाफ १-१ गोलको बराबरीमा सकिएको खेलमा बाँकी गोल बार्सिलोनाले दोस्रो हाफमा गरेको हो।
६६ औं मिनेटमा डेम्बेलेले गोल गर्दै अग्रता २-१ बनाएका थिए। त्यसको २ मिनेटपछि लेवान्डोस्कीले व्यक्तिगत दोस्रो तथा टिमका लागि तेस्रो गोल गरेका थिए। युवा खेलाडी अन्सु फातिले ७९ औं मिनेटमा गोल गरेपछि बार्सिलोनाले जारी सिजनमा पहिलो जीत निकाल्न सफल भयो।
जीतसँगै बार्सिलोना ४ अंकका साथ तालिकाको पाँचौं स्थानमा रहेको छ।