काठमाडौँ। फागुन १४ गते यसवर्षको प्रधानसेनापति खुला म्याराथन आयोजना गरिने भएको छ। फागुन १७ महाशिवरात्रि पर्व तथा सेना दिवस रहेकाले केही दिनअघि प्रतियोगिता आयोजना गरिन लागिएको हो।
४२.१९५ कि.मी पुरुष म्याराथन तथा २१ कि.मी महिला/पुरुष हाफ म्याराथन गर्न लागिएको जानाइएको छ। साथै सैनिक अधिकृत र सैनिक सहचारी महिला/पुरुषको सहभागितामा १० किमी दौड तथा उपत्यकाभित्रका सहायक रथी र सोभन्दामाथिका रथीबृन्द, सैनिक श्रीमती सङ्घका कार्यकारिणी पदाधिकारी सम्मिलित पाँच किमी वाकाथन समेत आयोजना गरिनेछ।
म्याराथनमा प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः रु तीन लाख, दुई लाख र एक लाख नगद पुरस्कार दिइनेछ। त्यसैगरि हाफ म्याराथनमा पहिला, दोस्रो र तेस्रो स्थान प्राप्त गर्नेलाई क्रमशः रु ७५ हजार, रु ५० हजार र रु ३५ हजार नगर दिइनेछ। म्याराथनमा प्रथम हुनेलाई सिसिक अटोमोबाइल प्रालिले यामाहा मोटरसाइकल र काठमाडौँ महानगरपालिकाले हाफ म्याराथनकी विजयी महिला धावकलाई स्कुटर दिने भएको छ।
म्याराथनमा द्वितीय हुने र हाफ म्याराथनमा प्रथम हुने पुरुष धावकलाई पनि पुरस्कारस्वरूप मोटरसाइकल दिइनेछ। प्रतियोगितामा सहभागी हुन चाहनेले व्यक्तिगत र संस्थागतरूपमा शुक्रबारदेखि नाम दर्ता गर्न सक्नेछन्।